काठमाडौँ वडा-२९ मा एकैसाथ तीन सेवा केन्द्र सञ्चालन, उपप्रमुख डंगोलद्वारा उद्घाटन ; नागरिकलाई घरमै सेवा पुगेको अनुभूति गराउने लक्ष्य: उपप्रमुख डंगोल
काठमाडौँ, ६ असार । काठमाडौँ महानगरपालिकाको वडा नं. २९ ले नागरिकलाई सहज र एकीकृत सेवा प्रदान गर्ने उद्देश्यले एकैदिन तीनवटा महत्त्वपूर्ण सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। बिहीबार आयोजित एक विशेष कार्यक्रममा महानगरकी उपप्रमुख सुनिता डंगोलले ‘मेलमिलाप केन्द्र’, ‘एकल सेवा केन्द्र’ र ‘स्वास्थ्य प्रवर्धन केन्द्र’ को औपचारिक उद्घाटन गर्नुभयो।
वडाको महिला सञ्जालले आयोजना गरेको ‘स्थानीय न्याय संवाद’ कार्यक्रमको अवसर पारेर यी केन्द्रहरूको शुभारम्भ गरिएको हो।
सेवा प्रवाहमा सहजता ल्याउने महानगरको लक्ष्य
केन्द्रहरूको उद्घाटनपछि बोल्दै उपप्रमुख डंगोलले यी सेवा केन्द्रहरूले नागरिकलाई सरकारी कार्यालयमा धाएको नभई आफ्नै घरदैलोमा सेवा पाएको अनुभूति दिलाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “महानगरपालिकाभित्रका सबै विवाद केन्द्रमा आए भने चाहेर पनि सहज न्याय प्रदान गर्न नसकिन सक्छ। यसैकारण मैले पदबहालीसँगै वडास्तरीय मेलमिलाप केन्द्र स्थापना गर्ने र वडास्तरीय महिला सञ्जाल गठन गर्ने निर्णय गरेकी थिएँ।”
उहाँले आज सबै वडाहरूमा यी दुवै संयन्त्र स्थापना भई प्रभावकारी रूपमा काम गरिरहेको बताउनुभयो। महिला नेतृत्वको प्रशंसा गर्दै उहाँले थप्नुभयो, “यी दुईवटै प्रणाली महिलाहरूको नेतृत्वमा सञ्चालित छन्, तर जिम्मेवारी लैङ्गिक हिंसाविरुद्धको हो। यसमा हिंसामा परेका पुरुषहरूको समस्या पनि समान रूपमा सुनुवाइ हुन्छ।”
स्थानीय तहमै न्याय र सुशासनको प्रत्याभूति
कार्यक्रममा वडा नं. २९ का अध्यक्ष तथा महानगर न्यायिक समितिका सदस्य कुश ढकालले लोकतन्त्रको वास्तविक मर्म जनताका समस्या उनीहरूकै घरदैलोमा समाधान गर्नु रहेको बताउनुभयो। “शिक्षा, स्वास्थ्य र न्यायमा नागरिकलाई सहजता प्रदान गर्न सकियो भने मात्रै सबैले सरकार भएको महसुस गर्न पाउँछन्,” उहाँले भन्नुभयो।
त्यसैगरी, न्यायिक समितिकी सदस्य आशा श्रेष्ठ रौनियारले विगतमा पीरमर्का पर्दा प्रहरीमा जानुपर्ने बाध्यता हटेर अहिले आफैँले निर्वाचित गरेका जनप्रतिनिधिबाटै विवादको सुनुवाइ हुने व्यवस्थाले नागरिकलाई ठूलो राहत मिलेको बताउनुभयो। उहाँका अनुसार, निवेदन लेख्न नजान्नेहरूका लागि न्यायिक सहजकर्तामार्फत निःशुल्क सहयोग गर्ने प्रणालीको विकास भएको छ, जुन एउटा अनुभूतियोग्य अभ्यास हो।
मेलमिलाप केन्द्रको प्रभावकारिता: ८८ प्रतिशत विवाद समाधान
वडा महिला सञ्जालकी संयोजक रेणु श्रेष्ठका अनुसार, २०७९ कार्तिक १३ गते सञ्जाल गठन भएयता ९१ वटा विवाद दर्ता भएका छन्। मेलमिलाप केन्द्रकी संयोजक संगीता पुजारीले दर्ता भएका विवादमध्ये ८८ प्रतिशत मेलमिलापको माध्यमबाटै सफलतापूर्वक समाधान भएको जानकारी दिनुभयो, जसले स्थानीय तहमा मेलमिलापको बढ्दो प्रभावकारितालाई दर्शाउँछ।
अभिनन्दन तथा सम्मान कार्यक्रम
सोही अवसरमा उपप्रमुख डंगोललाई स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि ‘विश्वव्यापी युवा नेता’ (Young Global Leader) मा चयन हुनुभएकोमा वडाबासीका तर्फबाट अभिनन्दन गरिएको थियो।
यस्तै, टेबुलटेनिसका विभिन्न प्रतियोगितामा विजयी भई वडाको गरिमा बढाउन योगदान दिएकी खेलाडी इन्दिरा पौड्याल पराजुलीलाई सम्मान गरिएको थियो। वडा कार्यालयको प्रशासकीय भवन निर्माणमा योगदान पुर्याउनुहुने महानगरका पूर्व विभागीय प्रमुख शान्ताराम पोखरेलसहित पूर्वजनप्रतिनिधि र स्थानीय राजनीतिक व्यक्तित्वहरूलाई पनि कदरपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै पूर्वन्यायाधीश साधुराम सापकोटाले नेपालमा लिच्छविकालदेखि नै प्रचलनमा रहेको मेलमिलापको अवधारणा आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो। उहाँले स्थानीय तहमा हुने मेलमिलाप नै सबैभन्दा प्रभावकारी हुनेमा जोड दिनुभयो।