मुग्लिन-मलेखु सडकखण्डमा रात्रिकालीन आवागमन सुचारु

चितवन, ८ असार । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-मलेखु सडकखण्डमा हुँदै आएको रात्रिकालीन आवागमन आजदेखि सुचारु भएको छ । सो खण्डका चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम सम्पन्न भएसँगै रातिको समयमा सडक बन्द नगरिने भएको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख केदारप्रसाद नेपालका अनुसार बरबाङ, मोवा, खटौती र गोमती खोलाका पुलमा बिम राख्ने काम सम्पन्न भएको हो । उहाँले ती पुलमध्ये दुईवटाको ढलान असार मसान्तभित्र सक्ने गरी काम अघि बढाइएको जानकारी दिनुभयो ।

आयोजनाले गत जेठ ३० गतेदेखि रातिमा सडक बन्द गरी पुलमा बिम राख्ने काम गर्दै आएको थियो । यद्यपि, सोही आयोजनाअन्तर्गतको नौबिसे-मलेखु खण्डमा पर्ने गलौदी खोलामा बिम राख्नका लागि आज र भोलि राति १०:३० बजेदेखि बिहान ३:०० बजेसम्म सडक बन्द गरिने आयोजनाले सूचनामार्फत जानकारी दिएको छ ।

आयोजना कार्यालयका अनुसार हालसम्म मुग्लिन-मलेखु खण्डको भौतिक प्रगति ३२ प्रतिशत पुगेको छ । यस खण्डमा हालसम्म आठ किलोमिटर सडक कालोपत्र भइसकेको छ भने नाला निर्माण, पहिरो रोकथाम र पर्खाल लगाउने लगायतका कामहरू तीव्र गतिमा भइरहेका छन् ।