काम नगर्ने पाँच निर्माण कम्पनी कालोसूचीको प्रक्रियामा, ७ दिनभित्र स्पष्टीकरण माग
काठमाडौं, ९ असार । सार्वजनिक खरिद सम्झौताअनुसार तोकिएको समयमा काम सम्पन्न नगर्ने पाँच निर्माण तथा आपूर्तिकर्ता कम्पनीहरू कालोसूचीमा पर्ने भएका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयले यी कम्पनीहरूलाई कालोसूचीमा राख्न प्रक्रिया अघि बढाएको हो।
सम्बन्धित आयोजना कार्यान्वयन गर्ने सरकारी निकाय र स्थानीय पालिकाहरूले सम्झौता बमोजिम जिम्मेवारी पूरा नगरेको भन्दै कारबाहीका लागि सिफारिस गरेपछि कार्यालयले यो कदम चालेको हो।
कार्यालयले पहिलो चरणमा ३० दिनको म्याद दिएर स्पष्टीकरण मागेकोमा कम्पनीहरू सम्पर्कमा नआएपछि पुनः ७ दिने सार्वजनिक सूचना जारी गरिएको छ। यो अन्तिम म्यादभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित उपस्थित नभएमा ती कम्पनीहरूलाई कालोसूचीमा राखिनेछ।