कतार उडान पुनः सुरु, अलपत्र यात्रु गन्तव्यतर्फ

काठमाडौँ, १० असार । इरानले कतारमाथि आक्रमण गरेपछि सोमबार रातिदेखि अवरुद्ध बनेका खाडी क्षेत्रका उडानहरू पुनः सञ्चालनमा आएका छन्।

उडान सुचारु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका सयौँ यात्रुहरू आज आफ्नो गन्तव्यतर्फ लागेका छन्।

सोमबार राति ११:३० बजे कतारको दोहाका लागि उड्न तयार रहेको नेपाल वायुसेवा निगमको विमान र हिमालय एयरलाइन्सको उडान अन्तिम समयमा रद्द गरिएको थियो। निगमका प्रवक्ता सुवास डाँगीका अनुसार नेपाल एयरलाइन्सको मात्रै २६९ जना यात्रु थिए, जसमध्ये अधिकांश वैदेशिक रोजगारीका लागि जानेहरू थिए। उडान रद्द भएपछि उनीहरू विमानस्थलमै अलपत्र परेका थिए।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले कतारले आफ्नो हवाई क्षेत्र (एयरस्पेस) खुला गरिसकेकाले अब उडानहरू नियमित हुने जानकारी दिनुभयो। उहाँका अनुसार गएराति रद्द भएका उडानहरू आज दिउँसो १२ बजेबाट पुनः सञ्चालनमा ल्याइएको छ। “कतारको आकाश खुला भइसकेको छ, अब नियमित उडान हुनेमा हामी विश्वस्त छौं,” निरौलाले भन्नुभयो।

उडान रद्दको असर काठमाडौँबाट जाने यात्रुमा मात्र नभई कतारबाट आउने उडानमा पनि परेको छ। आज बिहान ८ बजे काठमाडौँ अवतरण गर्नुपर्ने विमान पनि कतारबाटै रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ। सोमबार राति यात्रुहरूलाई विमानमा चढाउने तयारी भइरहेका बेला आक्रमणको खबर आएपछि उडान रोकिँदा विमानस्थलमा यात्रुहरू अलमलमा परेका थिए।

निगमले आफ्ना सबै २६९ यात्रुलाई आज पठाउनका लागि सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको जनाएको छ। यद्यपि, कतारको परिस्थितिका कारण खाडी मुलुकका अन्य नियमित उडानमा सामान्य ढिलाइ हुन सक्ने बताइएको छ। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ नेपाली वायुसेवासहित ३० वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान भर्दै आएका छन्।