टोखामा विष्णुमतीको बाढीले कार बगायो, एक महिलाको सकुशल उद्धार
काठमाडौं, १२ असार । काठमाडौंको टोखास्थित विष्णुमती खोलामा आएको बाढीले कार बगाउँदा त्यसमा सवार एक महिलाको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका छन्।
गएराति करिब १० बजे भएको उक्त घटनामा दाङकी ३४ वर्षीया भावना ओलीको ज्यान जोगिएको हो।
काठमाडौं प्रहरी परिसरका अनुसार, कञ्चनपुरका ३५ वर्षीय अंकुश सिंहले चलाएको बाग्मती प्रदेश ०३१ च ६१४१ नम्बरको ईभी कार ग्राण्डी अस्पताल नजिकबाट खोलामा खसेको थियो। कार खस्नेबित्तिकै चालक सिंह हाम फालेर बाहिर निस्कन सफल भए, तर कारभित्र रहेकी ओली गाडीसहित बाढीमा बग्न पुगिन्।
बगिरहेको कारभित्र महिलालाई देखेपछि प्रहरीले गाडीलाई पछ्याएको थियो। कार बग्दै गएर बानियाटार पुलमा अड्किएपछि प्रहरी र स्थानीयले जोखिम मोलेर उद्धार गरेका थिए। उद्धार कार्यमा प्रहरी हवल्दार उमेश कुमार लोहनी, प्रहरी सहायक हवल्दार समिर विक, प्रहरी जवान सुमन थापा तथा स्थानीय युवाहरू अर्जुन गुरुङ र राजु तामाङ संलग्न थिए।
उद्धार गरिएकी भावना ओली र उद्धारमा खटिएका दुई स्थानीय सामान्य घाइते भएका छन्। उनीहरु सबैको बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी नायव उपरीक्षक निरन्जन थापाको कमाण्डमा ठूलो संख्यामा प्रहरी र विपद व्यवस्थापनको टोली घटनास्थलमा परिचालित भएको थियो। बाढीले बगाएको कारलाई राति करिब पौने १२ बजे क्रेनको सहायताले बाहिर निकालिएको थियो र हाल नयाँ बसपार्क प्रहरी प्रभागमा राखिएको प्रहरीले जनाएकाे छ।