घमाइलो दसैँले बढायो यात्राको उत्साह, झरीको चिन्ता हट्यो
घमाइलो मौसमले दसैँ यात्रा सहज, उपत्यका छाड्नेको सङ्ख्या ११ लाख हाराहारी गत वर्षको झरीले घर जान रोकेकाहरूलाई यसपटक मौसमले दियो राहत अनुकूल मौसमले बढायो दसैँको रौनक, बाढीपहिरोको जोखिमबाट राहत मनसुन बाहिरिएपछि खुलेको मौसम, यात्रामा सहजता मौसमको अनुमानले कतिले रोके घर जाने योजना, घाम लागेपछि पछुतो
काठमाडौँ, ६ कात्तिकः दसैँ नजिकिँदै गर्दा खोटाङकी सपना राईलाई यसपटक घर जान पाइएला कि नपाइएला भन्ने चिन्ता थियो। दसैँअघि लगातार परेको वर्षाले सडक बिग्रिने र यात्रा कष्टकर हुने हो कि भन्ने आशङ्का उहाँको मनमा थियो। विगतका वर्षमा दसैँका बेला झरीका कारण भोग्नुपरेको सास्ती सम्झँदा यसपटकको यात्रा सहज हुनेमा उहाँ विश्वस्त हुन सक्नुभएको थिएन।
तर, दसैँ नजिकिँदै जाँदा मौसम खुल्यो। आकाशमा घाम लाग्न थाल्यो र घर जाने वातावरण सहज बन्यो। यसले राईको मनमा खुसी थप्यो। “प्रायः दसैँमा र दसैँको अघिपछि वर्षा हुँदा आउजाउ गर्न निकै सास्ती हुन्थ्यो। यसपटक त्यस्तो भएन, रमाइलो लागेको छ,” उहाँ भन्नुहुन्छ।
चाडपर्व आफन्त र प्रियजनसँग भेटघाट गर्ने अवसर हुन्। त्यसैले दसैँमा घर जाने तयारीमा रहेका मानिसका लागि मौसम केवल प्राकृतिक अवस्था मात्र होइन, यात्राको सहजता र चाडपर्वको खुसीसँग पनि जोडिएको हुन्छ। घाम लाग्दा यात्रा सहज हुने, बाटोमा अवरोधको जोखिम कम हुने र परिवारसँग चाडपर्व मनाउने उत्साह बढ्ने गर्छ।
तर, यसपटक मौसम सफा भएकै कारण घर जान नपाएकोमा पछुतो मान्नेहरू पनि छन्। सिन्धुलीका अमित तिमिल्सिनाले अघिल्लो वर्षको दसैँमा झरीले दिएको सास्ती सम्झेर यसपालि उपत्यकामै बस्ने निर्णय गर्नुभयो। गत वर्षजस्तै वर्षा दोहोरिए यात्रा कठिन हुने अनुमान गर्दै उहाँले घर जाने योजना बनाउनुभएन।
“यस वर्ष पनि झरी पर्यो भने सास्ती खेप्नुपर्ला भनेर उपत्यकामै बस्ने योजना बनाएँ। अहिले मौसम राम्रो भएपछि त घर जानुपर्ने रहेछ भन्ने लागिरहेको छ,” उहाँ भन्नुहुन्छ।
अध्ययन र रोजगारीका सिलसिलामा काठमाडौँ उपत्यकामा बस्दै आएका धेरैका लागि दसैँमा घर जाने वा नजाने निर्णय मौसम र सडकको अवस्थासँग जोडिने गर्छ। वर्षाको सम्भावनाले यात्रा अनिश्चित बनाउँदा घर जाने योजना स्थगित गर्नेहरूलाई मौसम खुलेपछि भने आफूले गलत निर्णय गरेको महसुस हुन सक्छ।
उपत्यकाभित्रै बस्नेहरूका लागि पनि दसैँको घमाइलो मौसमले फरक अर्थ राख्छ। ललितपुरको गोदावरीकी कृतिका घिमिरेलाई यसपटक उपत्यका बाहिर जानुपर्ने थिएन। उहाँका लागि मौसम खुल्नु भनेको दैनिक आवतजावत सहज हुनु, सडकमा हिलोको समस्या कम हुनु र चाडपर्वका गतिविधिमा सहजै सहभागी हुन पाउनु हो। उहाँका अनुसार वर्षा हुँदा उपत्यकाभित्रै यात्रा गर्नसमेत कठिन हुने गर्छ।
यसरी दसैँको मौसमले उपत्यका छाडेर गाउँ जाने यात्रुदेखि सहरमै चाडपर्व मनाउनेसम्मलाई प्रभाव पार्छ। अनुकूल मौसमले आवतजावत सहज बनाउनुका साथै आफन्त भेटघाट र चाडपर्वको चहलपहलमा सहभागी हुने अवसर पनि बढाउँछ।
ढिलो दसैँमा मौसम राम्रो हुने पुरानो अनुभव
गोदावरीकै कर्ण घिमिरेले भने दसैँ र मौसमबीचको सम्बन्धलाई लामो अनुभवका आधारमा हेर्नुहुन्छ। आठ दशक पार गरिसक्नुभएका उहाँले जीवनमा धेरै दसैँ मनाउनुभएको छ। उहाँको अनुभवमा दसैँ ढिलो पर्दा मौसम राम्रो हुने र छिटो पर्दा झरी पर्ने गरेको छ।
“पहिलापहिलाका अग्रजले पनि दसैँ छिटोभन्दा ढिलो आएको राम्रो हुन्थ्यो, बर्खे दसैँ त रमाइलो नै हुँदैन भन्नुहुन्थ्यो। मेरो पनि त्यही अनुभव छ,” उहाँ भन्नुहुन्छ।
यद्यपि दसैँ कुन समयमा पर्छ भन्ने आधारमा मात्रै मौसमको अवस्था निर्धारण हुँदैन। मनसुनको बहिर्गमन र त्यसपछि सक्रिय हुने मौसमी प्रणालीले पनि वर्षाको सम्भावनालाई प्रभावित पार्छ।
गत वर्षको वर्षाले दिएको सास्ती
गत वर्ष दसैँको रमझम चलिरहेकै बेला असोज १७ देखि २० गतेसम्म भारीदेखि अति भारी वर्षा हुने तथा बाढीपहिरोको जोखिम रहने चेतावनी जारी भएको थियो। नेपाल मौसम विज्ञान विभागले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई आफू रहेको स्थानमै सुरक्षित रहन आग्रह गरेको थियो।
त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सम्भावित विपद् व्यवस्थापनका लागि पूर्वतयारी अघि बढायो। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले लामो दूरीका तथा काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने सवारीसाधनको आवागमन तीन दिनसम्म रोक्ने निर्णय गरिएको थियो।
यसको प्रत्यक्ष असर दसैँ मनाउन गाउँ फर्किएका र उपत्यका छाड्ने तयारीमा रहेका सर्वसाधारणमा परेको थियो। यातायात सञ्चालन रोकिँदा कतिपयले यात्राका क्रममा सास्ती खेप्नुपर्यो भने कतिपयले आफन्तको हातबाट दसैँको टीका लगाउनसमेत पाएनन्।
यस वर्ष भने दसैँको अवधिमा वर्षाजन्य विपद् नदेखिएकोमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती सन्तुष्ट हुनुहुन्छ।
“गत वर्षजस्तो वर्षा नभएकाले आवतजावतमा खासै समस्या भएन। वर्षाका कारण कुनै विपद् भोग्नुपरेन,” उहाँ भन्नुहुन्छ। यद्यपि, गत भदौ १० गते रसुवाको भोटेकोशी र असोज २५ गते गोरखाको बूढीगण्डकीमा आएको बाढीले निम्त्याएको पीडा भने बाँकी नै रहेको उहाँ बताउनुहुन्छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता नरेशराज सुवेदीका अनुसार यस वर्ष वर्षाका कारण सडक अवरुद्ध हुने, हिलोले सवारी आवागमनमा समस्या आउनेजस्ता चुनौती देखिएनन्।
यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)का अनुसार अनुकूल मौसमका कारण अपेक्षाभन्दा बढी मानिस उपत्यकाबाट बाहिरिएका छन्। बाढीपहिरोको जोखिम र सडकको अवस्थालाई ध्यानमा राख्दै यस वर्ष उपत्यका छाड्नेको सङ्ख्या करिब सात लाख हुने अनुमान गरिएको भए पनि करिब ११ लाख मानिस बाहिरिएको उहाँले बताउनुभयो।
मनसुन बाहिरिएपछि अनुकूल बन्यो मौसम
नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालका अनुसार दसैँको मौसमबारे सर्वसाधारणमा हरेक वर्ष चासो हुने गर्छ। यस वर्ष पनि दसैँमा मौसम कस्तो रहला भनेर विभागमा फोन आउने गरेको उहाँ बताउनुहुन्छ।
“यस वर्ष दसैँको अवधिमा मौसम अनुकूल रह्यो। अधिकांश स्थानमा वर्षा नहुँदा घर जाने र फर्किने यात्रुले विगतका वर्षमा जस्तो झरीको सास्ती खेप्नुपरेन,” उहाँ भन्नुहुन्छ।
उहाँका अनुसार फूलपातीको अघिल्लो दिन सङ्खुवासभा, झापा, लमजुङ, कास्की र स्याङ्जाका केही स्थानमा हल्का वर्षा भए पनि त्यसले जनजीवन र सडक यातायातमा उल्लेख्य प्रभाव पारेन।
यस वर्ष दसैँका बेला मनसुन बाहिरिसकेको र पश्चिमी वायुको प्रभावसमेत नरहेकाले मौसम अनुकूल बनेको ढकाल बताउनुहुन्छ। तर, दसैँ छिटो पर्दा मनसुन पूर्ण रूपमा बाहिरिइसकेको नहुन सक्ने र मनसुन बाहिरिएपछि पनि पश्चिमी वायु सक्रिय भए वर्षा हुन सक्ने भएकाले हरेक वर्ष दसैँको मौसम एउटै नहुने उहाँको भनाइ छ।
आगामी साता वर्षाको सम्भावना, आधिकारिक सूचना हेर्न आग्रह
नेपाल मौसम विज्ञान विभागले आगामी साता मङ्गलबारदेखि देशका केही भूभागमा वर्षा हुन सक्ने सम्भावना औँल्याएको छ। यसले दसैँ मनाएर काठमाडौँ उपत्यका फर्किने यात्रुलाई केही असहजता हुन सक्ने देखिएको छ।
विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले भने सम्भावित वर्षालाई लिएर अहिले नै त्रसित हुन आवश्यक नरहेको बताउनुभएको छ।
“अर्को साता मङ्गलबार वर्षा हुन सक्ने सम्भावना देखिएको छ। तर, कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुन्छ भन्ने निश्चित छैन,” उहाँ भन्नुहुन्छ। सामाजिक सञ्जालमा सात दिनसम्म लगातार वर्षा हुने भन्दै फैलिएका खबरले किसानलाई त्रसित बनाएको उल्लेख गर्दै उहाँले मौसमी प्रणाली परिवर्तन भइरहने भएकाले अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो।
महर्जनका अनुसार तीन दिनसम्मको मौसम पूर्वानुमान तुलनात्मक रूपमा बढी विश्वसनीय हुने भए पनि सात दिनसम्मको पूर्वानुमानमा परिवर्तन हुन सक्छ। आगामी दिनमा वर्षाको अवस्था स्पष्ट भएपछि विभागले आवश्यक सूचना जारी गर्ने उहाँले बताउनुभयो।
सम्भावित वर्षाका विषयमा सामाजिक सञ्जालमा फैलिने अपुष्ट खबरभन्दा विभागको आधिकारिक सूचनालाई आधार बनाउन उहाँको आग्रह छ।
यस वर्षको दसैँमा खुलेको मौसमले यात्रालाई सहज बनाउनुका साथै चाडपर्वको उल्लास बढाएको छ। तर, मौसम सधैँ अनुकूल रहन्छ भन्ने निश्चित हुँदैन। त्यसैले यात्रा गर्नुअघि मौसम पूर्वानुमान र सडकको अवस्थाबारे जानकारी लिनु तथा आधिकारिक सूचनाका आधारमा योजना बनाउनु आवश्यक देखिन्छ।
