राजनीतिमा पुनरागमनसँगै पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सुविधा फिर्ता, गृह मन्त्रालयलाई पत्र लेख्दै
काठमाडौं, १६ असार । दश वर्षपछि नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किनुभएका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्र प्रमुखको हैसियतमा प्राप्त गर्दै आएको सरकारी सेवा-सुविधा फिर्ता गर्न लाग्नुभएकाे छ।
सक्रिय राजनीतिमा रहेर राज्यको सुविधा लिँदा नैतिक प्रश्न उठ्ने भन्दै उहाँले उक्त सुविधा फिर्ताका लागि गृह मन्त्रालयमा पत्र पठाएर औपचारिक प्रक्रिया सुरु गर्न लाग्नुभएकाे हाे ।
भण्डारीनिकट स्रोतका अनुसार, शनिबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबाटै सुविधा फिर्ताको घोषणा गर्न पार्टीका नेता-कार्यकर्ताबाट सुझाव आएको थियो । तर, भण्डारीले यसलाई “सस्तो प्रचारबाजी र स्टन्ट” हुने भन्दै अस्वीकार गर्नुभएकाे थियाे । “सार्वजनिक घोषणा गर्नुभन्दा सम्बन्धित सरकारी निकायलाई औपचारिक रूपमा पत्र लेखेर प्रक्रिया पूरा गर्नु उपयुक्त हुन्छ भन्ने उहाँको चाहनाअनुसार काम अघि बढेको श्राेतले जनाएकाे छ”
गृह मन्त्रालयका अनुसार, पूर्वराष्ट्रपति भण्डारीलाई एक उपसचिव सरहको स्वकीय सचिव र कार्यालय सहयोगीका लागि मासिक करिब डेढ लाख रुपैयाँ उपलब्ध गराइँदै आएको थियो । हाल उहाँको स्वकीय सचिवको रूपमा रत्नराज्य लक्ष्मी क्याम्पसका पूर्वस्ववियु सभापति राजकुमार राई कार्यरत हुनुहुन्छ ।
यसका साथै, उहाँले अन्य पदाधिकारीले जस्तो गाडी सुविधा नलिए पनि मासिक २०७ लिटर पेट्रोल र सुरक्षाकर्मीको निवासका लागि घरभाडा सुविधा प्राप्त गर्दै आउनुभएकाे थियाे । यद्यपि, पूर्वराष्ट्र प्रमुखको हैसियतमा प्रदान गरिएको सुरक्षा भने फिर्ता नहुने गृह मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयका अनुसार, पूर्व राष्ट्रप्रमुखको सुरक्षा प्रोटोकलअनुसार अनिवार्य हुने भएकाले यसलाई हटाउन मिल्दैन ।