‘कुलिङ पिरियड’ विवाद: त्रुटि राष्ट्रियसभाबाट सच्याइने सभामुखको प्रतिबद्धता
काठमाडौँ, १७ असार । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा ‘बाहेक’ शब्द थपिएको विषयमा चौतर्फी विवाद भएपछि सभामुख देवराज घिमिरेले आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ।
उहाँले प्रतिनिधि सभाले समितिको प्रतिवेदनलाई हुबहु पारित गरेको स्पष्ट पार्दै उक्त त्रुटिलाई राष्ट्रियसभाबाट सच्याइने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संसदीय मामिला पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले भन्नुभयो, “समितिबाट जे प्रस्ताव आयो, त्यही पारित भएको हो। सदनले त्यसमा केही थपघट गरेर पास गरेको होइन।” उहाँले विधेयकमा देखिएको समस्याको स्रोत प्रतिनिधि सभा नभई सम्बन्धित समिति नै भएकोतर्फ सङ्केत गर्नुभयो।
सभामुख घिमिरेले समितिमै छलफलको नियत एउटा भए पनि परिणाम अर्कै आएको भन्दै समितिका सदस्यहरूले नै गुनासो गरिरहेको उल्लेख गर्नुभयो। “यो कसरी भयो, यस विषयमा छानबिन हुनुपर्छ,” उहाँले भन्नुभयो।
यो घटनाले विधेयकको जवाफदेहिता सम्बन्धित समितिको हुने कुरा स्पष्ट पारेको बताउँदै सभामुखले अब यसलाई सच्याउने जिम्मेवारी राष्ट्रियसभाको भएको बताउनुभयो। प्रतिनिधि सभाबाट पारित भइसकेकाले अब उक्त विधेयकमा देखिएको त्रुटि राष्ट्रियसभाले संशोधन गरेर सच्याउने प्रक्रियागत बाटो रहेको उहाँले स्पष्ट पार्नुभयो।