झापामा पुनः कोरोना संक्रमण, ८ जनामा पुष्टि, काँकरभिट्टा नाकामा परीक्षण सुरु
झापा, १७ असार । झापामा पुनः कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामा आठ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण देखिन थालेसँगै पूर्वी नाका काँकरभिट्टामा सतर्कता अपनाउँदै परीक्षण सुरु गरिएको छ।
स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीका अनुसार संक्रमितमध्ये पाँच जना झापाकै हुन् भने मोरङ, इलाम र दोलखाका एक-एक जना रहेका छन्। संक्रमणको जोखिमलाई मध्यनजर गर्दै काँकरभिट्टा नाकामा शङ्कास्पद देखिएका मानिसहरूको परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली खटाइएको उहाँले बताउनुभयो।
यसैबीच, संक्रमणको जोखिमलाई ध्यानमा राख्दै जिल्लामा कोभिडविरुद्धको १५ हजार मात्रा फाइजर खोप आइपुगेको छ। यो खोप रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, स्वास्थ्यकर्मी, गर्भवती महिला तथा बालबालिकासहित तोकिएका प्राथमिकता समूहलाई नयाँ तालिकाअनुसार वितरण गरिनेछ।
यद्यपि, संक्रमण बढेको अवस्थामा जटिल प्रकृतिका बिरामीलाई कुन अस्पतालमा राखेर उपचार गर्ने भन्ने विषयमा भने अन्योल कायमै रहेको प्रमुख बाराकोटीले बताउनुभयाे ।