मनसुन सक्रियः देशभर वर्षा, केही पहाडी भेगमा भारी वर्षाको सम्भावना

 

काठमाडौँ, १८ असार । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ। यसको प्रभावले आज देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने केही पहाडी भू-भागमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार, आज देशभरको मौसम सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ।

यसैगरी, देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले वर्षाको यो क्रम जारी रहने बताइएको छ।