बाराको जगदम्बा स्टिल्सको फलाम गलाउने भट्टीमा विस्फोट, क्षतिको विवरण आउन बाँकी
सिमरा, १८ असार । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ मा अवस्थित देशकै ठूलोमध्येको एक, जगदम्बा स्टिल्स उद्योगको भट्टीमा विस्फोट भएको छ । बुधबार राति करिब सवा ९ बजे फलाम पगाल्ने क्रममा उक्त विस्फोट भएको हो ।
इलाका प्रहरी कार्यालय सिमराका अनुसार, उद्योगमा नियमित उत्पादन प्रक्रिया चलिरहेका बेला फलाम गलाउने भट्टी (फरनेस) मा ठूलो आवाजसहित विस्फोट भएको थियो । विस्फोटको आवाजले उद्योग परिसर र आसपासका क्षेत्रमा समेत त्रास फैलिएको थियो ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर विस्फोटको कारण र त्यसबाट भएको क्षतिको विवरण संकलन सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, विस्फोटबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण आउन बाँकी छ । “हाम्रो टोलीले अनुसन्धान गरिरहेको छ, हालसम्म कुनै मानवीय हताहतीको खबर आएको छैन, तर क्षतिको पूर्ण विवरण संकलन कार्य जारी छ,” एक प्रहरी अधिकारीले बताए ।
जगदम्बा स्टिल्स नेपालको एक प्रमुख डन्डी तथा फलामजन्य सामग्री उत्पादक कम्पनी हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।