अब ‘ओभरलोड’माथि कडाइ, यातायात सुधार सरकारको प्राथमिकतामाः मन्त्री दाहाल
काठमाडौँ, २० असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्रलाई व्यवस्थित बनाउनु सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।
उहाँले विशेषगरी सडक र पुलमा क्षति पुऱ्याइरहेका ‘ओभरलोड’ सवारीसाधनलाई सीमा क्षेत्रबाटै नियन्त्रण गर्न कडा कदम चालिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री दाहालले भन्नुभयो, “अधिक भार भएका सवारीले हाम्रा पुल र सडकमा ठूलो नोक्सानी गरिरहेका छन् ।
अब भारबहन क्षमतालाई कडाइका साथ लागू गरिनेछ ।” उहाँले भूबनोट र क्षमताअनुसार बनेका राष्ट्रिय संरचनाको संरक्षण गर्नु सबैको साझा दायित्व भएको स्मरण गराउनुभयो ।