नेपालको विदेशी मुद्रा सञ्चिति २५ खर्ब ६९ अर्ब पुग्यो, आर्थिक सूचकहरू सकारात्मक

काठमाडौँ, २४ असार। नेपालको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च विन्दुमा पुगेको छ। चालु आर्थिक वर्षको ११ महिना (जेठ मसान्त) सम्ममा देशको कुल विदेशी विनिमय सञ्चिति २५ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ पुगेको हो।
नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार शोधनान्तर स्थिति र चालु खाता पनि बचतमा रहेकाले देशको बाह्य आर्थिक अवस्था बलियो देखिएको छ।
चालु आर्थिक वर्षको सुरुमा २० खर्ब ४१ अर्ब रहेको सञ्चिति ११ महिनामा २५.९ प्रतिशतले बढेको हो। राष्ट्र बैङ्कका अनुसार हालको सञ्चितिले १७.६ महिनाको वस्तु आयात र १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ।
शोधनान्तर स्थिति: जेठ मसान्तसम्ममा देशको शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँले बचतमा छ, जुन गत वर्षको सोही अवधिको तुलनामा बढी हो।
चालु खाता: लामो समय घाटामा रहेको चालु खाता पनि ३ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँले बचतमा गएको छ।
प्रत्यक्ष वैदेशिक लगानी : यस अवधिमा ११ अर्ब ९ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ, जुन गत वर्षको सोही अवधिमा ८ अर्ब २४ करोड रुपैयाँ मात्र थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *