प्रधानमन्त्रीसहित उच्चस्तरीय टोली भोटेकोशी बाढीकाे स्थलगत अवलोकनका लागि जाँदै

काठमाडौं, २४ असार । रसुवाको भोटेकोशी नदीमा गए राति आएको विनाशकारी बाढीले पुर्‍याएको जनधनको क्षतिको स्थलगत अवलोकनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उच्चस्तरीय सरकारी टोली आज रसुवा जानुहुने भएको छ।

गृह मन्त्रालय स्रोतका अनुसार, प्रधानमन्त्री ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक मंगलबार दिउँसो बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न रसुवातर्फ जान लाग्नुभएको हो।

प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासबाट हेलिकप्टरमार्फत प्रस्थान गर्नुहुनेछ भने अर्थमन्त्री र गृहमन्त्री अर्को हेलिकप्टरमा जानुहुनेछ। टोलीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरू पनि सहभागी हुने कार्यक्रम रहेको छ।

गए राति आएको भीषण बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ भने तीन प्रहरीसहित १८ जना नागरिक सम्पर्कविहीन भएका छन्। सरकारी टोलीले क्षतिको प्रत्यक्ष अवलोकन गरी उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आवश्यक निर्देशन दिने बताइएको छ।