नेपाली कांग्रेसका नेताहरूलाई कारबाही, पूर्वमन्त्रीसहित ७ जना पार्टीबाट निष्कासित

काठमाडौँ, २५ असार । नेपाली कांग्रेसले २०७९ सालमा सम्पन्न स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेका नेता तथा कार्यकर्ताहरूलाई कारबाही गरेको छ ।

पार्टीको केन्द्रीय अनुशासन समितिले लामो छानबिन र स्पष्टीकरण प्रक्रियापछि अन्तर्घातमा संलग्न नेताहरूलाई निष्कासन तथा निलम्बन गर्ने निर्णय गरेको हो ।

समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाका अनुसार, निर्वाचनमा पार्टी उम्मेदवारविरुद्ध सामाजिक सञ्जाल, अडियो/भिडियो जस्ता माध्यम प्रयोग गरी असहयोग गरेको प्रमाणका आधारमा कारबाही गरिएको हो ।

समितिको निर्णयअनुसार, महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल, महासमिति सदस्य तुलसी सुब्बा, खोटाङ जिल्ला सभापति विष्णुकुमार राई र पर्सा क्षेत्र नं १ का सभापति अरविन्दकुमार गुप्तालाई एक वर्षका लागि पार्टी सदस्यताबाट निष्कासन गरिएको छ ।

त्यसैगरी, धनुषाको लक्ष्मिनीया गाउँपालिका सभापति आनन्द यादवलाई ६ महिनाका लागि निष्कासन तथा कास्कीका निवर्तमान सभापति कृष्ण केसीलाई ३ महिनाका लागि पार्टीबाट निलम्बन गरिएको छ । समितिले आरोपितहरूसँग माग गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि कांग्रेसको विधानअनुसार कारबाही गरिएको जनाएको छ ।