नवनियुक्त उपकुलपतिको पहिलो बैठकबाट त्रिविको २८ अर्बको बजेट पारित, अनुसन्धान र बजारमुखी शिक्षामा जोड

काठमाडौँ, २६ असार । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २८ अर्बभन्दा बढीको बजेट पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको विश्वविद्यालयको सिनेट बैठकले उक्त बजेट स्वीकृत गरेको हो ।

आजको वार्षिक साधारणसभा बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि रु २८ अर्ब १२ करोड ५७ लाख २१ हजार बजेट पारित गरेको छ । उक्त बजेट चालु आर्थिक वर्षको तुलनामा ७ दशमलव ४८ प्रतिशतले बढी हो । बजेटमा त्रिविको आन्तरिक स्रोतबाट ४९ दशमलव ३९ (रु १३ अर्ब ८८ करोड ९३ लाख) र नेपाल सरकारबाट ५० दशमलव ६१ प्रतिशत (रु १४ अर्ब २३ करोड ६३ लाख) प्रस्ताव गरिएको छ ।

बजेटले समयसापेक्ष बजारमुखी नयाँ विषयको अध्यापन तथा अनुसन्धान सुरु गर्ने र विद्यमान पाठ्यक्रमको परिमार्जन गर्ने नीतिलाई प्राथमिकता दिएको छ ।

बैठकले विभिन्न सङ्काय र तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीहरुसहितको ६३ औँ ग्रेसलिष्ट पारित पनि गरेको छ । नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले कार्यभार सम्हालेको भोलिपल्ट यो पहिलो सिनेट बैठक भएको हो ।

पारित बजेटले परम्परागत शिक्षाभन्दा पनि अनुसन्धान, पाठ्यक्रम परिमार्जन र बजारको मागअनुसार नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा विशेष जोड दिएको छ । विश्वविद्यालयले समयसापेक्ष र व्यावहारिक शिक्षा प्रदान गर्ने नीति लिएको बजेटमा उल्लेख छ ।