कुरिनटारमा बस, ट्रक र माइक्रोबस ठोक्किए, ११ जना घाइते
चितवन, १० कात्तिक । चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित पृथ्वी राजमार्गमा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्। मंगलबार बिहान बस, ट्रक र माइक्रोबस आपसमा ठोक्किएर दुर्घटना भएको हो।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बिहान ८ः४५ बजे सर्लाहीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाडौं बाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोबस एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा घाइते भएका ११ जनालाई स्थानीय अस्पताल तथा कुरिनटारस्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा लगिएको डीएसपी थापाले जानकारी दिए।
दुर्घटनापछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोली र नेपाल प्रहरी खटिएका छन्।
