उद्यमशीलताबाट मात्र मुलुक समृद्ध बन्न सक्छ : प्रधानमन्त्री ओली

ललितपुर, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलताको विकासबाटै मुलुकले समृद्धि हासिल गर्न सक्ने बताउनुभएको छ। उहाँले सरकार, युवा र महिला उद्यमीहरूले एकसाथ मिलेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ।

महिला उद्यमी महासङ्घले ललितपुरमा आयोजना गरेको ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन, २०८२’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त धारणा राख्नुभएको हो। “हामीले उद्यमशीलताको विकासबाट समृद्धि हासिल गर्नुपर्नेछ,” उहाँले भन्नुभयो, “सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च प्राथमिकता दिएको छ। यस सम्मेलनबाट आउने निष्कर्षले सरकारको प्राथमिकता पूरा गर्न महत्त्वपूर्ण सहयोग पुग्नेछ।”

प्रधानमन्त्री ओलीले महिला सशक्तीकरणका लागि सरकारले संवैधानिक र कानुनी रूपमै विभिन्न व्यवस्थाहरू गरेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “हामीले तीनै तहको सरकारमा महिलाको कम्तीमा ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेका छौँ। विद्यालयमा छात्राहरूको सङ्ख्या मात्र होइन, नतिजा पनि छात्रहरूको भन्दा राम्रो हुँदै गएको छ, जुन सकारात्मक छ। हामीले अझै धेरै प्रगति हासिल गर्नुछ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *