नेपालको यु१६ पुरुष क्रिकेट टिमलाई नगद पुरस्कार

काठमाडौँ, २७ असार । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा जित्ने नेपाली टोलीलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । क्यानले नेपाली टोलीका खेलाडी तथा अफिसियलहरूलाई प्रोत्साहन स्वरुप जनही ५० हजार रुपियाँ पुरस्कार दिने निर्णय गरेको हो ।

गत हप्ता मलेसियामा भएको प्रतियोगितामा नेपालले सिङगापुरलाई फाइनलमा दुई विकेटले हराएर च्याम्पियन बनेको थियो । सो प्रतियोगितामा नेपाल अपराजित रहेर च्याम्पियन बनेको थियो । जुन २० देखि जुलाई ५ सम्म भएको प्रतियोगितामा भुटान, इन्डोनेसिया, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, मलेसिया र थाइल्यान्डको पनि सहभागिता रहेको थियो ।