विद्युत् बजारको सुनिश्चितता र स्थिर कर नीति सरकारको प्राथमिकता : अर्थमन्त्री पौडेल

काठमाडौँ, २७ असार । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विद्युत् उत्पादन बढाएर मात्रै नहुने, त्यसको खरिद र खपतको सुनिश्चितता गर्नु सबैभन्दा महत्त्वपूर्ण रहेको बताउनुभएको छ । उहाँले उत्पादन वृद्धिसँगै आन्तरिक खपत बढाउने र बजार सुनिश्चित गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले जलविद्युत्को विकासबाटै देशले आर्थिक समृद्धि हासिल गर्न सक्ने बताउनुभयो । उहाँले जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको लगानी सुरक्षित गर्न सरकारले अनुकूल नीति बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी नडुब्ने गरी लचिलो नीति आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकार स्थिर कर नीतिको पक्षमा रहेको स्पष्ट पार्नुभयो । “करको दायरा र दर दुवै बढाउनुपर्ने आवश्यकता भए पनि नीतिगत स्थिरता कायम गर्न सरकारले जोड दिनेछ,” उहाँले भन्नुभयो, “आगामी बजेटले पनि करको दायरा विस्तार गर्ने लक्ष्य राखेको छ ।”

राज्यका नियामक निकायलाई सशक्त बनाउँदा केही व्यवसायीबाट गुनासो आउने गरे पनि अनियमितता गर्नेलाई कानुनी दायरामा ल्याउन सरकार पछि नहट्ने उहाँले दृढता व्यक्त गर्नुभयो ।
सो अवसरमा आर्थिक पत्रकारितामार्फत देशको आर्थिक विकासमा योगदान पुर्‍याएका विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।