बागलुङको जैमिनीमा बाढीको वितण्डा: जलविद्युत् आयोजना बगायो, ३०० रोपनी खेत बगर बन्यो

बागलुङ, २९ असार । गत मंगलबार राति अविरल वर्षासँगै आएको बाढीले बागलुङको जैमिनी नगरपालिकामा ठूलो क्षति पुर्‍याएको छ ।

कालुङखोला र ठेउलेखोलामा आएको बाढीले एक जलविद्युत् आयोजना पूर्ण रूपमा बगाएको छ भने करिब तीन सय रोपनी धानखेत बगरमा परिणत भएको छ । प्रारम्भिक अनुमानअनुसार बाढीले रु एक अर्बभन्दा बढीको क्षति गरेको छ ।

असार २४ गते राति आएको बाढीले सबैभन्दा बढी क्षति जैमिनी नगरपालिका–९, पैयुथन्थापमा पुर्‍याएको छ । नगरपालिकाको कृषि शाखाका अनुसार पैयुथन्थापमा मात्रै भर्खरै रोपाइँ सकिएको १५० रोपनी खेत पूर्ण रूपमा बगर बनेको छ । जसमध्ये ५० रोपनी जग्गा पुनः खेती गर्न नसकिने गरी खोलाले कटान गरेको कृषि शाखा प्रमुख सुवास सापकोटाले जानकारी दिनुभयो ।

नगरपालिकाले गरेको प्रारम्भिक तथ्याङ्क सङ्कलनअनुसार वडा नं ४, ९ र १० मा गरी करिब ३०० रोपनी धानखेतमा क्षति पुगेको छ । जैमिनी–१० सहेला फाँटमा नौ रोपनी खेतमा धान रोपेका वडा नं ४ का डम्मरबहादुर सार्कीको खेत बगर बनेपछि उहाँ चिन्तित हुनुहुन्छ ।

बाढीले कालुङखोला जलविद्युत् आयोजनाको गृह नै बगाउँदा आयोजना पूर्ण रूपमा ध्वस्त भएको छ । जसका कारण पैयुथन्थापका १२२ परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । साथै, बाढीले नौवटा सिँचाइ कुलोमा समेत क्षति पुर्‍याएको छ ।

जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले क्षतिको विवरण सङ्कलन भइरहेको र पीडित किसानलाई तत्काल राहत उपलब्ध गराइने बताउनुभयो । उहाँले भन्नुभयो, “तत्कालका लागि किसानलाई धान रोप्न लागेको लागत रोपनीको आधारमा राहत दिने र सिँचाइ कुलो मर्मत गर्ने कार्य सुरु गर्छौँ । खेतको क्षतिपूर्ति दिन नसकिए पनि यसपटकको उब्जनी घाटालाई ध्यानमा राखेर राहत दिने तयारीमा छौँ ।”

नगरपालिकाले कृषि प्राविधिक, इन्जिनियर र जनप्रतिनिधिहरूको टोली बनाएर क्षतिको विस्तृत विवरण सङ्कलन गरिरहेको जनाएको छ ।