क्यान्सरका बिरामीलाई ठूलो राहत: ३७ प्रकारका अत्यावश्यक औषधि निःशुल्क, पहिलो खेप नेपाल आइपुग्यो
काठमाडौँ, २९ असार। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्यान्सरका बिरामीले अब ३७ प्रकारका अत्यावश्यक र महँगा औषधिहरू निःशुल्क पाउने घोषणा गर्नुभएको छ।
अन्तर्राष्ट्रिय च्यारिटी संस्था ‘डाइरेक्ट रिलिफ’को सहयोगमा प्राप्त यी औषधिले उपचारका लागि विदेश जानुपर्ने बाध्यता हटाउनुका साथै विपन्न नागरिकलाई ठूलो राहत दिनेछ।
पहिलो चरणको औषधि नेपाल आइपुगेको र सरकारी अस्पतालमार्फत तत्काल वितरण सुरु गरिने मन्त्री पौडेलले बताउनुभयो। ‘वन हर्ट वर्ल्डवाइड’ संस्थामार्फत नेपाल ल्याइएको उक्त सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “लामो मेहनतपछि यो सफलता प्राप्त भएको छ। औषधि अभावमा विदेश गएर महँगो खर्च गर्नुपर्ने बिरामीको बाध्यता अब हट्नेछ।”
डाइरेक्ट रिलिफले स्तन, छाला, अल्जाइमरलगायत विभिन्न क्यान्सरको उपचारमा प्रयोग हुने दुर्लभ औषधिहरू नेपालको आवश्यकताअनुसार पाँच वर्षसम्म उपलब्ध गराउने समझदारी भएको छ। “क्यान्सरको औषधि महँगो हुँदा विपन्न नागरिकलाई ठूलो समस्या थियो,” मन्त्री पौडेलले भन्नुभयो, “राज्यको लगानीबिना नै धेरै नागरिकलाई राहत दिने हाम्रो प्रयास हो।”
मन्त्रालयका अनुसार, पहिलो चरणमा प्राप्त औषधिहरू निम्न अस्पतालहरूलाई हस्तान्तरण गरिएको छ:
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर
भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर
सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके
वीर अस्पताल, काठमाडौँ
मन्त्री पौडेलले सरकारले प्रदान गर्ने स्वास्थ्य सुविधा र बीमाबारे नागरिकलाई पर्याप्त जानकारी नहुँदा सेवाबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै यस्ता विषयमा सूचना प्रवाह गरी सहयोग गर्न सञ्चारमाध्यमलाई आग्रह समेत गर्नुभयो। यो सहयोगले नेपालको क्यान्सर उपचार क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।