धरान-चतरा खण्डका तीन पुल निर्माण सम्पन्न, स्थानीयलाई राहत

सुनसरी, ३१ असार । मदन भण्डारी राजमार्गको धरान-चतरा खण्डमा निर्माणाधीन तीनवटा महत्त्वपूर्ण पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

बाघ खोला, बगुवा खोला र ठकुरी खोलामा पुल बनेसँगै वर्षायाममा नागरिकले भोग्दै आएको कष्टकर यात्रा अन्त्य भएको छ।

निर्माण कम्पनी सूर्य एण्ड सन्स कन्स्ट्रक्सनका अनुसार तीनवटै पुलको ९५ प्रतिशतभन्दा बढी काम सकिएको छ। कम्पनीका इन्जिनियर उमेश श्रेष्ठले बराहक्षेत्र नगरपालिका-१ मा पर्ने ६० मिटर लामो बाघ खोला पुल, ३० मिटरको बगुवा खोला पुल र ३५ मिटर लामो ठकुरी खोला पुल निर्माणको काम लगभग सकिएको जानकारी दिनुभयो। उहाँका अनुसार पुलहरू सञ्चालनमा आइसकेका छन् र अब छेउछाउको फिनिसिङको काम मात्र बाँकी छ।

यद्यपि, सोही ठेक्काअन्तर्गत निर्माण हुनुपर्ने चौथो ‘रेल्वे पुल’ को काम भने अझै सुरु हुन सकेको छैन। “रेल्वे पुलको क्षेत्र जङ्गलभित्र परेकाले आवश्यक प्रक्रिया पूरा नहुँदा काम रोकिएको हो,” इन्जिनियर श्रेष्ठले भन्नुभयो, “सम्बन्धित निकायबाट स्वीकृति पाउनासाथ निर्माण सुरु गरिनेछ।”
कम्पनीले २०७९ जेठमा भ्याटसहित २१ करोड ७८ लाख रुपैयाँमा यी चार पुल निर्माणको ठेक्का पाएको थियो। विगतमा पुल नहुँदा बर्खामा खोला तर्न निकै कठिन थियो र कैयौँले ज्यान समेत गुमाएका थिए।

यो सडक खण्ड भोजपुर, खोटाङ र उदयपुरजस्ता पहाडी जिल्लाका बासिन्दाका लागि स्वास्थ्य, शिक्षा र कृषि उपज बिक्रीका लागि धरानसँग जोड्ने मुख्य मार्ग हो। पुल निर्माणले अब सुरक्षित र सहज यात्रा सम्भव भएकोमा स्थानीयवासी हर्षित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *