हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ जनामध्ये थप २ शव भेटिए, मृतकको संख्या ४ पुग्यो

मनाङ, १२ असाेज । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ बेस क्याम्पमा हिमपहिरोमा परी सम्पर्कविहीन भएका १२ जनामध्ये थप दुई जनाको शव फेला परेको छ । यससँगै हिमपहिरोमा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार सोमबार बिहान कैलाश हेलिकप्टरमार्फत हिम्लुङ बेस क्याम्पबाट थप दुई जनाको शव प्रदेश अस्पताल चामे ल्याइएको हो । दुवै शवको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यसअघि उद्धार गरिएका दुई शव भने संखुवासभाको भोटखोला गाउँपालिका–३ का ५२ वर्षीय छेबि भोटे र वडा नम्बर २ का ३१ वर्षीय पासाङ भोटेको रहेको खुलेको छ । उनीहरूको शव सोमबार बिहान कैलाश हेलिकप्टरमार्फत काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

भदौ ३० गते विभिन्न ट्रेकिङ एजेन्सीमार्फत हिम्लुङ बेस क्याम्प स्थापना गर्न गएका २२ नेपालीमध्ये १० जना आइतबार साँझ सकुशल फु गाउँमा बसेका थिए । बाँकी १२ जना भने हिमपहिरोपछि सम्पर्कविहीन भएका थिए ।

सम्पर्कविहीनमध्ये हालसम्म चार जनाको शव फेला परिसकेको छ । बाँकी व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

हिम्लुङ बेस क्याम्प जिल्ला प्रहरी कार्यालय मनाङबाट पैदल करिब तीन दिन उत्तरतर्फको दुर्गम क्षेत्रमा पर्छ । प्रतिकूल भौगोलिक अवस्था र मौसमका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *