न्यूनतम पारिश्रमिक बढेर १९,५०० पुग्यो, सरकार भन्छ- ‘श्रमिकको जीवनस्तर सुधार्ने लक्ष्य’

काठमाडौं, २ साउन । सरकारले श्रमिकको न्यूनतम मासिक पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ । हाल कायम रहेको १७,३०० रुपियाँबाट वृद्धि गरी १९,५०० रुपियाँ पुर्‍याइएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको उक्त निर्णयलाई ‘श्रमिकलाई एक मुट्ठी भरोसा दिने महत्त्वपूर्ण कदम’ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार श्रमिकको सम्मान र भविष्यप्रति प्रतिबद्ध रहेको बताउनुभएका छन् ।

निर्णय सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उहाँले श्रमिकको पसिना र योगदान बिना राष्ट्रको समृद्धि सम्भव नहुने उल्लेख गर्नुभएकाे छ । ‘श्रमिकको समृद्धि बिना राष्ट्रको समृद्धि असम्भव छ, त्यसैले उनीहरूको कडा मेहनतको मूल्यांकन हुनैपर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयाे ।

यसका साथै, सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउँदै श्रमिकको भविष्य थप सुरक्षित बनाउने लक्ष्य राखेको एक सरकारी अधिकारीले बताए । उनका अनुसार, हालसम्म करिब २१ लाख श्रमिक कोषमा आबद्ध भइसकेका छन् र यो संख्या बढाउन पारिश्रमिक वृद्धिले पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

‘श्रमिकहरूको सशक्तीकरण नै राष्ट्रको सशक्तीकरण हो भन्ने मान्यताका साथ सरकारले यो निर्णय लिएको हो,’ ती अधिकारीले भने, ‘यसले उनीहरूको जीवनस्तरमा सुधार ल्याउने हाम्रो विश्वास छ ।’