सामाजिक सुरक्षा कोषबाट योगदानकर्तालाई झण्डै तीन अर्ब ब्याज वितरण

काठमाडौँ, ६ साउन । सामाजिक सुरक्षा कोषले आफ्ना २३ लाखभन्दा बढी योगदानकर्तालाई आर्थिक वर्ष २०८१/८२ को ब्याजबापत झण्डै तीन अर्ब रुपैयाँ वितरण गरेको छ। कोषले वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रकममा उक्त ब्याज प्रदान गरेको हो।

कोषका सूचना अधिकारी डा. रोशन कोजुका अनुसार, वृद्धावस्था सुरक्षा योजना अन्तर्गत २३ लाख ७९ हजार ५८५ योगदानकर्ताको खातामा कुल रु. २ अर्ब ८४ करोड ४२ लाख रुपैयाँ जम्मा गरिएको हो। कोषले गत आर्थिक वर्षमा चैत ४ गतेसम्म ५.५ प्रतिशत र त्यसपछि असार मसान्तसम्म ५ प्रतिशतका दरले ब्याज प्रदान गरेको थियो।

हालसम्म कोषमा औपचारिक, अनौपचारिक र वैदेशिक रोजगारी क्षेत्रका गरी कुल २३ लाख ९० हजारभन्दा बढी योगदानकर्ता सूचीकृत भएका छन्। कोषमा हालसम्म कुल ८६ अर्ब ८६ करोड रुपैयाँ योगदान रकम सङ्कलन भएको छ।

कोषले हालसम्म विभिन्न सुविधा योजना अन्तर्गत योगदानकर्ताहरूलाई रु. १५ अर्ब ७७ करोड दाबी भुक्तानी गरिसकेको छ। कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना, आश्रित परिवार र वृद्धावस्था सुरक्षा जस्ता योजनाहरू सञ्चालन गर्दै आएको छ।