इकुमा गएकाे पहिरोले अरनिको राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोक, ७ साउन । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, इकुमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।

आज बिहान करिब ५ बजे खसेको पहिरोले राजमार्ग बन्द हुँदा यातायात ठप्प भएको हाे ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले कोदारी जोड्ने राजमार्गको इकु खण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको पुष्टि गर्नुभयो । उहाँका अनुसार, पहिरो पन्छाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको छ ।

प्रहरीका अनुसार, यो स्थानमा पहिरोका कारण पटक–पटक राजमार्ग अवरुद्ध हुँदै आएको छ । यसअघि गत असार २६ गते पनि सोही स्थानमा पहिरो जाँदा बन्द भएको सडक केही दिनअघि मात्र मर्मतपछि सञ्चालनमा ल्याइएको थियो ।