सामाजिक सुरक्षा कोषले श्रमिक र परिवारको स्वास्थको सम्पूर्ण जिम्मा लिने

काठमाडौँ, ७ साउन । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध श्रमिक र श्रमिकका परिवारको स्वास्थ्य जिम्मा लिने घोषणा गरेको छ ।

कोषमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कविराज अधिकारीले अबको करिब चार वर्षमा श्रमिक र परिवारको स्वास्थ्यको जिम्मा कोषमार्फत राज्यले लिने गरी काम भइरहेको स्पष्ट पार्नुभयो ।

पछिल्लो समय योगदानकर्ताको स्वास्थ्योपचारसम्बन्धी सुविधालाई विस्तार गर्दै लगिएको जानकारी दिँदै कार्यकारी निर्देशक अधिकारीले औपचारिक क्षेत्रका श्रमिकहरूको परिवारमा स्वास्थ्य सेवा विस्तार भई चालु आर्थिक वर्षमा कार्यान्वयनमा आइसकेको बताउनुभयो । “आजभन्दा पाँच वर्ष अगाडि योगदानकर्तामा मात्र सिमित रहेको स्वास्थ्य उपचार सेवा अहिले योगदानकर्ताको परिवारमा समेत विस्तार भइसकेको छ”, उहाँले भन्नुभयो, “औषधि उपचारको एक लाखको सीमालाई योगदानकर्ताको हकमा अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने भएमा १० लाख सम्मको उपचार खर्चमा ५० प्रतिशत सहभुक्तानी सुविधा समेत उपलब्ध गराइएको छ ।”

पछिल्ला वर्ष रोजगारदाता र योगदानकर्ताको सूचीकरण र योगदान रकम सङ्कलनमा उल्लेख्य वृद्धि भएको जनाउँदै कार्यकारी निर्देशक अधिकारीले वैदेशिक रोजगारीमा रहेका श्रमिकबाट हुने योगदान रकमको नियमितताका लागि प्रयास जारी रहेको बताउनुभयो । गत आवसम्ममा कोषमा २० हजार नौ सय ९१ रोजगारदाता र २३ लाख ७४ हजार चार सय ८६ योगदानकर्ता आबद्ध भएका छन् । सो आवमा मात्रै आठ लाख ८२ हजार नौ सय ४६ श्रमिक कोषमा आबद्ध भएका छन् । सो अवधिमा रु ८३ अर्ब ६५ करोड पुगेको कोषले जनाएको छ ।

नियमित योगदान गरेका योगदानकर्तालाई विभिन्न सामाजिक सुरक्षा योजनाको उपयोग गरेबापत रु १५ अर्व ७५ करोड रकम भुक्तानी गरिएको कोषले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *