बाजुरा जीप दुर्घटना : मृतककाे सङ्ख्या तीन पुग्यो, १३ गम्भीर घाइतेकाे उद्वारका लागि सेनाको हेलिकप्टरको पहल
बाजुरा, ८ साउन । बाजुराको हिमाली गाउँपालिका–५ मा पर्ने कवाडी–क्युडी सडकको टुनीगडामा जीप दुर्घटना हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।
जीप दुर्घटनामा परी घाइते भएकी सोही गाउँपालिका वडा नं ५ की ३५ वर्षीया जुनेली रोकायाको उद्धारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिनुभयो ।
सोही गाउँपालिकाको क्युडीबाट वडा नम्बर ५ को वडा कार्यालय कवाडी आउँदै गरेकाे जीप दुर्घटना भएको हाे ।
जीपको क्षमताभन्दा बढी यात्रु सवार रहेको र सडक कच्ची भएका कारण अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरी निरीक्षक चौधरीले बताउनुभयो । जीपमा सवार भएका १९ जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । जीप दुर्घटनामा परी मृत्यु हुनेमा ७६ वर्षीय विजौरा रोकाया र ७५ वर्षीय बाँचकला रोकाया छन् ।
दुर्घटनामा परेका १३ जनाको अवस्था गम्भीर रहेको छ भने तीन जनाको अवस्था समान्य रहेको छ । उनीहरुको उद्धारका लागि गाउँपालिकाको एम्बुलेन्स र स्वास्थ्यकर्मी परिचालन गरिएको छ । घाइतेको उपचारका लागि उद्दार गर्न नेपाली सेनाको हेलिकप्टरको पहल भइरहेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो ।