मातृभाषा पत्रकारिताले संघीयता र प्रेस स्वतन्त्रतालाई बलियो बनाउँछ : सभामुख घिमिरे

काठमाडौँ, ९ साउन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मातृभाषामा गरिने पत्रकारिताले अभिव्यक्ति स्वतन्त्रतालाई मात्र नभई संघीयताको मर्मलाई समेत बलियो बनाउने बताउनुभएको छ।

नेवाः पत्रकार राष्ट्रिय दबूले आयोजना गरेको अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको प्रतिवेदन ग्रहण गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो।

सभामुख घिमिरेले बहुभाषिक र बहुजातीय विविधता भएको नेपालजस्तो मुलुकमा मातृभाषाको पत्रकारिताले राज्यसँग नागरिकको अपनत्व बढाउने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “सम्मेलनले उठाएका विषय र निष्कर्षलाई कानुन निर्माण प्रक्रियामा समावेश गर्न र राज्यको नीतिमा कार्यान्वयन गराउन मेरो तर्फबाट पूर्ण पहल हुनेछ।” उहाँले देशीविदेशी विज्ञको सहभागितामा भएको सम्मेलन महत्त्वपूर्ण रहेको भन्दै प्रशंसा समेत गर्नुभयो।

नेवाः पत्रकार राष्ट्रिय दबूले नेपालका प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यले पत्रकारिता सुरु गरेको १०० वर्ष पुगेको अवसरमा गत जेठ ३० र ३१ गते ‘मातृभाषा संरक्षणका लागि पत्रकारिता’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो।

सिंहदरबारस्थित सभामुखको कार्यालयमा प्रतिवेदन बुझाउन दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुनिल महर्जन, महासचिव केके मानन्धर लगायतको टोली पुगेको थियो। दबूले विगत १३ वर्षदेखि मातृभाषा पत्रकारिता र समावेशी सञ्चारको पक्षमा वकालत गर्दै आएको छ।