खडेरीपीडित मधेसलाई प्रधानमन्त्रीको सम्बोधन: तत्काल ५०० डिप बोरिङ जडान गरिने

जलेश्वर, ९ साउन । खडेरीका कारण सिँचाइ र खानेपानीको चरम सङ्कट भोगिरहेको मधेस प्रदेशलाई राहत दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल ५०० वटा डिप बोरिङ जडान गर्ने घोषणा गर्नुभएको छ।

महोत्तरीको मटिहानीमा पुल र प्रसूति गृहको उद्घाटन गर्दै उहाँले उक्त प्रतिबद्धता जनाउनुभएको हो।

प्रधानमन्त्री ओलीले हवाई उडानबाटै मधेसको अधिकांश जमिन सुक्खा र उजाड देखेको बताउँदै प्रदेशका आठै जिल्लामा सिँचाइ तथा खानेपानीको व्यवस्था मिलाउन सरकारले तत्काल काम थाल्ने बताउनुभयो। सङ्कटग्रस्त क्षेत्र घोषणा भइसकेको मधेसमा किसान र प्रभावित जनताका लागि विशेष राहत कार्यक्रम ल्याइने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले विकास र चेतनाका लागि शिक्षा अपरिहार्य रहेकोमा जोड दिनुभयो। “जहाँ शिक्षा छ, त्यहाँ विकास छ, जहाँ छैन त्यहाँ गरिबी छ,” उहाँले भन्नुभयो, “आफ्ना छोराछोरीलाई विनाभेदभाव विद्यालय पठाउनुहोस्।” उहाँले गरिबी निवारण र देश विकासका लागि शिक्षालाई प्राथमिकता दिन सबैलाई अनुरोध गर्नुभयो।