झापाका अनारमनी, चन्द्रगढी र केचनामा एक सय २९ मिलीमिटरसम्म वर्षा
झापा, १८ साउन । झापामा पछिल्लो २४ घण्टामा भएको भीषण वर्षाले विभिन्न नदीहरूमा बाढीको खतरा बढाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अनारमनी, चन्द्रगढी र केचनामा १२९ मिलिमिटरसम्म वर्षा रेकर्ड गरिएको छ, जसका कारण कन्काई, मेची, रतुवालगायतका नदीको जलस्तर बढेको छ।
बाढीको जोखिम बढेसँगै कचनकवल, बारदशी, झापा र गौरीगञ्जका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ भने विपद् पूर्वसूचना प्रणालीका साइरन बज्न थालेका छन्।
जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरूले सम्भावित विपद् व्यवस्थापनको तयारी तीव्र पारेका छन्। प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले सुरक्षा निकाय र स्थानीय सरकारसँगको समन्वयमा उद्धार तथा राहतको पूर्ण तयारी गरिएको बताउनुभयो। कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल र झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जु थपलियाले पनि विपद् व्यवस्थापन समितिहरूलाई सक्रिय बनाइएको र बासिन्दालाई सुरक्षित स्थानमा सार्ने योजना तयार रहेको जानकारी दिनुभयो।
भारी वर्षाले एसियन हाइवेअन्तर्गतका डाइभर्सनहरूमा पनि जोखिम बढाएको छ। मेचीनगर क्षेत्रको कालीखोला, इलिफेन्ट क्रसिङ र भालुखोलाका डाइभर्सनमा क्षति पुग्न सक्ने भन्दै आयोजनाले कर्मचारी र उपकरणहरूलाई तयारी अवस्थामा राखेको छ।
मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकीले आयोजनासँग समन्वय गरी उद्धार र मर्मत टोलीलाई तयारी अवस्थामा राखिएको बताउनुभयो। बाढीको जोखिमलाई ध्यानमा राख्दै विशेषज्ञहरूले कचनकवल, झापा, बारदशी, गौरीगञ्ज र कन्काईका नदीतटीय बासिन्दालाई विशेष सावधानी अपनाउन र सुरक्षित रहन आग्रह गरेका छन्।