राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ, १९ साउन । लामो प्रतीक्षापछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

सोमबार साँझ बसेको बोर्ड बैठकको निर्णयपछि नतिजा प्रकाशन गरिएको हो, जससँगै परीक्षामा सहभागी ५ लाख ११ हजार ५ सय २५ विद्यार्थीको प्रतीक्षा अन्त्य भएको छ ।

नतिजा प्रकाशन गर्नुअघि बोर्डले आइतबार प्राविधिक तयारीस्वरूप ‘डेमो’ परीक्षण गरेको थियो । सोमबार साँझ बसेको बोर्डको आधिकारिक बैठकले नतिजालाई अन्तिम स्वीकृति दिएसँगै सार्वजनिक गरिएको हो ।

बोर्डको वार्षिक कार्यतालिका अनुसार नतिजा साउन १५ गतेभित्रै सार्वजनिक हुनुपर्ने थियो । तर, गत चैत २० गतेदेखि शिक्षकहरूले सञ्चालन गरेको २९ दिने आन्दोलनका कारण परीक्षा सरेको र उत्तरपुस्तिका परीक्षणमा समेत ढिलाइ हुन पुग्दा नतिजा प्रकाशनमा केही साता ढिला भएको हो ।

शिक्षक आन्दोलनकै कारण गत वैशाख ११ गतेका लागि तय भएको परीक्षा २१ वैशाखदेखि सुरु भएको थियो । यस वर्षको परीक्षामा देशभरबाट कुल ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।