कक्षा १२ मा ‘नन-ग्रेड’ ल्याउनेका लागि ग्रेड वृद्धि परीक्षाको मिति तोकियो, परीक्षा भदौ २८ र २९ गते

काठमाडौँ, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा ‘नन-ग्रेड’ (एनजी) प्राप्त गरेका विद्यार्थीहरूका लागि ग्रेड वृद्धि परीक्षाको मिति तय गरेको छ । बोर्डका अनुसार, ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुनेछ ।

सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गर्ने क्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले सो जानकारी दिनुभएको हो ।

आज सार्वजनिक नतिजाअनुसार कुल ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थीमध्ये ३८.८३ प्रतिशत विद्यार्थी ‘नन-ग्रेड’मा परेका छन् । यी विद्यार्थीहरूले उच्च शिक्षामा भर्ना पाउनका लागि ग्रेड वृद्धि परीक्षामा सहभागी भई न्यूनतम ग्रेड प्राप्त गर्नुपर्ने हुन्छ ।

शिक्षकहरूको आन्दोलनका कारण यस वर्षको कक्षा १२ को परीक्षा निर्धारित समयभन्दा केही ढिलो गरी गत वैशाख २१ गतेदेखि सञ्चालन भएको थियो । सोही कारण नतिजा प्रकाशनमा समेत केही विलम्ब भएको थियो ।