मनसुनजन्य विपद्: कार्यवाहक प्रधानमन्त्रीद्वारा उच्च सतर्कता अपनाउन निर्देशन, बर्दियामा डुबानको खतरा

काठमाडौँ, साउन २० । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुन सक्रिय भएसँगै देशका विभिन्न भागमा बाढीपहिरोको जोखिम बढेको भन्दै सबै सरकारी निकायलाई उच्च सतर्कतामा रहन र पूर्वतयारी गर्न निर्देशन दिनुभएको छ।

शुक्रबार शहरी विकास मन्त्रालयमा आयोजित एक आकस्मिक बैठकमा उहाँले गृहमन्त्री, रक्षामन्त्री, मुख्यसचिव र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुखसँग देशभरको मौसम अवस्था र सम्भावित जोखिमबारे जानकारी लिनुभएको थियो।

बैठकमा कार्यवाहक प्रधानमन्त्री सिंहले घटना घट्नुअघि नै पूर्वतयारीमा जुट्न, खोज तथा उद्धारका लागि सुरक्षा निकायलाई ‘हाइअलर्ट’मा राख्न र स्थानीय स्तरमा एसएमएस तथा सञ्चारमाध्यममार्फत पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो।

बर्दिया उच्च जोखिममा
बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले लुम्बिनी प्रदेशका दाङ, बाँके र बर्दियामा वर्षा गराउने प्रणाली सक्रिय रहेको जानकारी दिनुभयो। उहाँका अनुसार, भारी वर्षाका कारण बबई र राप्ती नदीको जलस्तर खतराको तह पार गरेकाले बर्दियामा आगामी ४ देखि ५ घण्टाभित्र डुबान हुन सक्ने उच्च सम्भावना रहेको छ।

त्यसैगरी, आज राति कैलाली र कञ्चनपुरमा भारी वर्षाको सम्भावना रहेको र मकवानपुरमा पनि मनसुन सक्रिय हुने आँकलन गरिएको छ।

बैठकमा गृहमन्त्री रमेश लेखकले विपद्लाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई अत्यावश्यक अवस्थामा बाहेक कार्यक्षेत्र नछाड्न निर्देशन दिइएको बताउनुभयो।