नेपालमा लगानी प्रवर्द्धनबारे प्रधानमन्त्री ओली र वाइपाका प्रमुखबीच छलफल
तुर्कमेनिस्तान, २१ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी प्रवर्द्धनसम्बन्धी निकायहरूको विश्व संघ (वाइपा) का कार्यकारी निर्देशक इजमाइल इर्साहिलसँग भेटवार्ता गर्नुभएको छ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तान पुग्नुभएका प्रधानमन्त्री ओलीले सम्मेलनकै साइडलाइनमा उक्त शिष्टाचार भेटवार्ता गर्नुभएको हो।
भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल सरकारले वैदेशिक लगानी आकर्षित गर्नका लागि नीतिगत सुधार, कानुनी सरलीकरण र लगानीमैत्री वातावरण निर्माणमा जोड दिएको बताउनुभयो। उहाँले नेपालको लगानी सम्भावनालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्न र विश्वभरका लगानीकर्ताहरूलाई नेपालमा लगानीका लागि उत्प्रेरित गर्न वाइपाको सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो।
जवाफमा, वाइपाका कार्यकारी निर्देशक इर्साहिले नेपालले लगानी सुधारका क्षेत्रमा गरेका प्रयासहरूको प्रशंसा गर्दै आगामी दिनमा वाइपासँगको सहकार्य थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।