बर्दियामा पौडी खेल्ने क्रममा गोहीले आक्रमण गर्दा युवक बेपत्ता, खोजी कार्य जारी
बर्दिया, २२ साउन । बर्दियाको कर्णाली नदीको भंगालोमा पौडी खेल्ने क्रममा गोहीको आक्रमणमा एक युवक दुई दिनदेखि बेपत्ता भएका छन्।
मधुवन नगरपालिका–१ का १९ वर्षीय रुपमिलन थारु पौडी खेल्ने क्रममा गोहीको आक्रमणमा परी बेपत्ता भएका हुन् । उनकाे खाेजीकार्य जारी रहे पनि बिहीबार बिहानसम्म फेला पार्न सकिएको छैन।
घटना मंगलबार साँझ सवा ५ बजेतिर ठाकुरबाबा नगरपालिका–९ स्थित हात्तीसार नजिक खौराहा खोलामा भएको हो। प्रत्यक्षदर्शी साथीहरूका अनुसार, खोलामा गोही देखेपछि उनीहरूले रुपमिलनलाई भाग्न भनेका थिए, तर उनले भाग्न नपाउँदै गोहीले टाउकोमा झम्टिएर पानीभित्र लगेको थियो।
बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलका अनुसार, घटनालगत्तैदेखि खोजी कार्य तीव्र पारिएको छ। खोजीमा निकुञ्जका दुईवटा हात्ती, मोटरबोटका साथै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी खटिएका छन्।
पौडेलले भने, “पानीमा हात्ती सजिलै पस्न सक्ने भएकाले खोजीमा निरन्तर प्रयोग गरिएको छ, तर हालसम्म कुनै पत्तो लागेको छैन।”