सुपर न्यादी जलविद्युत् आयोजनामा पहिरो: एक कामदारको मृत्यु, तीन घाइते
लमजुङ, २४ साउन । लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ मा निर्माणाधीन ४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनाको क्याम्पमा पहिरो जाँदा एक जना कामदारको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, लमजुङका अनुसार मृत्यु हुनेमा बेँसीसहर नगरपालिका–८ मा अस्थायी रूपमा बस्दै आएका ४४ वर्षीय लगनध्वज गुरुङ रहेका छन् । घाइते हुनेहरूमा दोर्दी गाउँपालिकाका २१ वर्षीय विराज गुरुङ, मध्यनेपाल नगरपालिकाका ३५ वर्षीय प्रितम लामा र प्यूठानका २५ वर्षीय विकास विष्ट रहेका छन् ।
उनीहरूको बेँसीसहरस्थित प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ । प्रहरी नायब उपरीक्षक रमेश बोहोराका अनुसार, आज दिउँसो कामदारहरू क्याम्पमा खाना खाइरहेको बेला अचानक पहिरो खसेको थियो । क्याम्पमा रहेका करिब ४० जनामध्ये भाग्ने क्रममा चार जना पहिरोको चपेटामा परेका थिए ।
अन्य ३६ जना कामदार भने सुरक्षित रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
