परिणाममुखी काम गर्न गृहमन्त्री लेखकको निर्देशन, लागुऔषध र साइबर अपराध नियन्त्रणमा जोड

काठमाडौँ, १ भदौ । गृहमन्त्री रमेश लेखकले मन्त्रालय मातहतका निकायलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिनुभएको छ। आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादन सम्झौता कार्यक्रममा बोल्दै उहाँले लागुऔषध, सडक दुर्घटना, आत्महत्या र साइबर अपराधजस्ता नयाँ चुनौतीको सामना गर्न ठोस परिणाम आवश्यक रहेको बताउनुभयो।

“लागुऔषध, सडक दुर्घटना, साइबर अपराध र आत्महत्या वर्तमानका नयाँ चुनौती हुन्। विगतमा विशेष काम भए पनि अब यो वर्ष परिणाम दिनेगरी काम गर्नुपर्छ,” गृहमन्त्री लेखकले भन्नुभयो।
उहाँले गत आर्थिक वर्षमा गृह मन्त्रालयले तोकिएका लक्ष्यमा ८८ प्रतिशत प्रगति हासिल गरेकोमा कर्मचारीहरूलाई धन्यवाद दिँदै सीमित स्रोतसाधनभित्रै नयाँ योजना बनाएर अघि बढ्न प्रोत्साहित गर्नुभयो। कार्यसम्पादन एक सामूहिक प्रयास भएकोले यसको जस-अपजस पनि सबैले लिनुपर्नेमा उहाँले जोड दिनुभयो।

गृहमन्त्री लेखकले पश्चिम नेपालमा भूकम्पपछिको पुनर्निर्माण कार्यलाई चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्न निर्देशन दिनुभयो। साथै, प्राविधिक कारणले रोकिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयकहरूलाई यसै महिनाभित्र संसदमा दर्ता गर्न पनि उहाँले निर्देशन दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *