चितवनमा आपराधिक कार्यमा बालबालिकाको प्रयोग बढ्दो

चितवन, २ भदौ । चितवनमा पछिल्लो समय आपराधिक गतिविधिमा बालबालिकाको प्रयोग डरलाग्दो रूपमा बढ्न थालेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनको तथ्याङ्कअनुसार, गत एक वर्षमा विभिन्न अपराधमा संलग्न ८६ जना बालबालिका पक्राउ परेका छन्, जसले यो समस्याको गम्भीरतालाई उजागर गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार पक्राउ पर्नेमा १० देखि १८ वर्ष उमेर समूहका बालबालिका छन्। उनीहरू विशेषगरी चोरी, लागुऔषध ओसारपसार र सार्वजनिक अपराधजस्ता घटनामा प्रयोग भएको पाइएको छ।

प्रहरीको तथ्याङ्कले देखाएअनुसार, अभद्र व्यवहारमा: २६ जना, चोरीमा: २२ जना, लागुऔषधमा: २१ जना, ज्यान मार्ने उद्योगमा: ७ जना, जबरजस्ती करणीमा: ५ जना, अन्य मुद्दामा: ५ जना रहेका छन् ।

प्रहरी उपरीक्षक पुरीले आपराधिक समूहले बालबालिकालाई थोरै पैसाको लोभ देखाएर अपराधमा संलग्न गराउने गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “विशेषगरी तराई क्षेत्रबाट बालबालिका ल्याएर चोरी गराउने र त्यसबाट ठूला व्यक्तिहरूले लाभ लिने गरेको पाइएको छ। यस्ता घटनामा संलग्न केही मुख्य व्यक्तिलाई समेत पक्राउ गरी कारबाही अगाडि बढाइएको छ।”

प्रहरीका अनुसार, लागुऔषध ओसारपसार जस्ता जोखिमपूर्ण काममा समेत बालबालिकाको प्रयोग बढ्नुले समाजमा नयाँ चुनौती थपिएको छ।