जीवन्त गाउँ परियोजनामा सम्झौता, चीन–नेपालका तीन गाउँबिच अनुभव आदान–प्रदान हुने

काठमाडौँ, २ भदौ । चाइना फाउन्डेसन फर रूरल डेभलपमेन्ट (सिएफआरडी)को १०औँ वार्षिकोत्सवका अवसरमा चीन र नेपालका तीन गाउँबीच जीवन्त गाउँ परियोजना सञ्चालन गर्न सम्झौता भएको छ ।

आज काठमाडौँमा आयोजना भएको कार्यक्रममा सम्झौता भएका गाउँहरुमा चीनको कोइलुङ र ललितपुरको गोटीखेल, चीनको प्याङयाङ र ललितपुरको खोकना, चीनको गउँगाङ र नुवाकोटको किम्ताङ गाउँ छन् । यी गाउँहरूबिच आगामी दिनमा विकास र कृषिका क्षेत्रमा अनुभव आदानप्रदान हुनेछ ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सङले सिएफआरडीले विगत १० वर्षदेखि खानेपानी, शिक्षा र गरिबी निवारणमा निरन्तर भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले यस्ता कार्यले दुई देशका जनस्तरको सम्बन्ध थप दृढ हुने विश्वास व्यक्त गर्नुभयो । राजदूत चेनले आगामी दिनमा सिएफआरडीसँग मिलेर दुई देशको सम्बन्ध र विकासमा नयाँ युगको सुरुआत गर्न सकिने बताउनुभयो ।

त्यस क्रममा ललितपुर महानगरपालिका वडा नम्बर २१ का अध्यक्ष रविन्द्र महर्जनले परियोजनाले बालबालिकाको विकास र गरिबी निवारणमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । त्यस्तै समाज कल्याण परिषद्का उपाध्यक्ष नन्दलाल माझीले परियोजनाबाट सामाजिक विकासका क्षेत्रमा प्रभावकारी हुने अपेक्षा राख्नुभएको थियो ।

सिएफआरडीका निर्देशक चेन हानटाउका अनुसार नेपालको गरिबी न्यूनीकरण र मानवीय सहायताका लागि निरन्तर काम भइरहेको उल्लेख गर्नुभयो ।

परियोजनाअन्तर्गत उन्नत धानखेती कार्यक्रम, उच्चस्तरीय सागसब्जी खेती र कृषि प्रविधि हस्तान्तरणका क्षेत्रमा काम हुनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *