अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यासप्रति उत्तर कोरिया क्रुद्ध, किमद्वारा नयाँ युद्धपोत निरीक्षण

एजेन्सी, ३ भदौ । उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिका र दक्षिण कोरियाबीच जारी संयुक्त सैन्य अभ्यासको कडा शब्दमा आलोचना गर्दै यसलाई ‘शत्रुतापूर्ण’ कार्यको संज्ञा दिनुभएको छ । आफ्नो सबैभन्दा आधुनिक युद्धपोतको निरीक्षण गर्दै उहाँले देशको आणविक शक्ति विस्तारलाई तीव्र गतिमा अघि बढाउने घोषणा गर्नुभएको छ ।

‘उल्ची फ्रिडम सिल्ड’ नामक ११ दिने अभ्यासमा हजारौँ अमेरिकी र दक्षिण कोरियाली सैनिकहरू सहभागी छन्, जसलाई उत्तर कोरियाले आफूमाथि आक्रमणको तयारीको रूपमा हेरेको छ ।

यसैबीच, नेता किमले पाँच हजार टन क्षमताको नयाँ विध्वंसक ‘चो ह्योन’ को निरीक्षण गर्नुभएको छ । आणविक क्षमताका ब्यालेस्टिक र क्रुज मिसाइल जडान गर्न सकिने यो युद्धपोतलाई उहाँले उत्तर कोरियाली नौसेनाको आणविक शक्तिको मुख्य आधार बताउनुभयो ।

किमले सैन्य अभ्यास ‘पहिलेभन्दा बढी उत्तेजक’ भएको भन्दै कडा प्रतिकार गर्ने चेतावनी दिनुभएको छ । यता, दक्षिण कोरियाको नयाँ नेतृत्वले भने वार्ता र विश्वासको वातावरण बनाउन चाहेको बताए पनि उत्तर कोरियाले पुरानो सैन्य सम्झौता नमान्ने घोषणा गरिसकेकाले संवादको भविष्य अनिश्चित बनेको छ ।