सङ्घीय सरकारले कार्यसम्पादनमा उत्कृष्ट ६ स्थानीय तहलाई सम्मान गर्ने, सूचीमा कुन-कुन परे?
काठमाडौँ, ४ भदौ । संघीय सरकारले आफ्नो कार्यसम्पादनमा उत्कृष्टता प्रदर्शन गर्ने ६ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा)’ मा सबैभन्दा बढी अंक ल्याउने ३ नगरपालिका र ३ गाउँपालिकालाई भदौ ६ गते एक विशेष कार्यक्रमका बीच सम्मान गर्न लागेको हो।
मन्त्रालयका अनुसार, स्थानीय तहहरूको कार्यप्रक्रिया, शासकीय क्षमता र विकासका उपलब्धिहरूको लेखाजोखा गर्न, सुधारका क्षेत्रहरू पहिचान गर्न तथा स्थानीय तहहरूबीच स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्न यो स्वमूल्यांकन कार्यक्रम सञ्चालन गरिँदै आएको छ। हालै सम्पन्न गुणस्तर परीक्षणपछि सार्वजनिक अन्तिम नतिजाका आधारमा उत्कृष्टहरूलाई छनोट गरिएको हो।
सम्मानित हुने स्थानीय तहहरू:
नगरपालिका:
खैरहनी नगरपालिका, चितवन
तिलोत्तमा नगरपालिका, रुपन्देही
नीलकण्ठ नगरपालिका, धादिङ
गाउँपालिका:
अर्जुनचौपारी गाउँपालिका, स्याङ्जा
बेनीघाट रोराङ गाउँपालिका, धादिङ
रुरुक्षेत्र गाउँपालिका, गुल्मी
उक्त सम्मान कार्यक्रम संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको प्रमुख आतिथ्यतामा हुनेछ। सोही अवसरमा ‘स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली’ को समेत शुभारम्भ गरिने मन्त्रालयले जनाएको छ।