द्वन्द्वकालदेखि २०८१ असारसम्म माइन विष्फोटबाट ६५१ जनाको मृत्यु, २८९९ घाइते
काठमाडौं, ६ भदाै । गृहमन्त्री रमेश लेखकले विगत तीन दशकमा (२०५२ सालदेखि २०८१ असारसम्म) माइन तथा विष्फोटक पदार्थका घटनामा परी ६५१ जनाको मृत्यु भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार सोही अवधिमा २ हजार ८९९ जना घाइते भएका छन्।
शुक्रबार राष्ट्रिय सभामा सांसद मदनकुमार साहले राखेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले उक्त तथ्याङ्क सार्वजनिक गर्नुभएको हो। उहाँले द्वन्द्वकालीन घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले राहत रकम प्रदान गरिएको बताउनुभयो।
सरकारले पीडितहरूका लागि विभिन्न राहतका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “घाइते तथा शहीदका सन्तानलाई वार्षिक छात्रवृत्ति, टुहुरा बालबालिकालाई १८ वर्षसम्म मासिक ५ हजार रुपैयाँ र घाइते अपाङ्गहरूलाई प्रतिशतका आधारमा जिल्ला प्रशासन कार्यालयमार्फत मासिक जीवन निर्वाह भत्ता प्रदान गरिँदै आएको छ।”
मन्त्री लेखकले अन्य राहत, उपचार खर्च तथा आर्थिक सहायताका व्यवस्थाहरू ‘राहत तथा आर्थिक सहायतासम्बन्धी मापदण्ड, २०७९’ र नेपाल सरकारको निर्णयबमोजिम कार्यान्वयन हुने गरेको पनि स्पष्ट पार्नुभयो।