राजनीति मात्र सफलता होइन, सामाजिक विकृतिविरुद्ध लाग्न युवालाई प्रथम महिलाको आग्रह

काठमाडौँ, ९ भदाै । प्रथम महिला राधिका शाक्यले समाजमा व्याप्त नकारात्मकता र विकृति अन्त्य गर्न युवाहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । उहाँले राजनीतिक सफलतालाई मात्रै वास्तविक सफलता मान्ने सामाजिक मानसिकता गलत भएको औंल्याउँदै युवाहरूलाई आफ्नो रुचिअनुसारको क्षेत्रमा अघि बढ्न सुझाव दिनुभयो ।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको तीज विशेष कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “हाम्रो समाजमा राजनीतिमा सफल भएको व्यक्तिलाई मात्रै सफल मान्ने गलत प्रवृत्ति छ, तर त्यस्तो होइन ।” उहाँले सबै मानिस राजनीतिमा लाग्नुको सट्टा आ-आफ्नो रुचि र क्षमताअनुसारको क्षेत्रमा योगदान दिनुपर्नेमा जोड दिनुभयो ।

प्रथम महिला शाक्यले समाजमा एक-अर्काको खुट्टा तान्ने, प्रगतिमा ईर्ष्या गर्ने जस्ता नकारात्मक प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गर्नुभयो । “कसैले प्रगति गरेको हेर्न नसक्ने र ईर्ष्या गर्ने प्रचलन समाजको उन्नतिका लागि बाधक हो,” उहाँले भन्नुभयो । उहाँले यस्ता विकृतिविरुद्ध अभियान चलाउन युवा संघलाई आग्रह गर्नुभयो ।

युवाहरू देशको वर्तमान र भविष्य दुवै भएकोले उनीहरूको मार्गले राष्ट्रको भविष्य निर्धारण गर्ने उहाँको भनाइ थियो ।