पोखरा र भैरहवा विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याउन उच्चस्तरीय छलफल

काठमाडौँ, १० भदौ । सरकारले पोखरा र गौतमबुद्ध (भैरहवा) अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने विषयमा उच्चस्तरीय छलफल गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो चापलाई व्यवस्थापन गर्ने र नवनिर्मित दुई विमानस्थललाई पूर्ण क्षमतामा चलाउने उपाय खोज्न अर्थ मन्त्रालयमा बैठक बसेको हो।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा भएको छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो।

बैठकमा यी विमानस्थलहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक कार्ययोजनाबारे विस्तृत छलफल भएको थियो।