तनहुँमा मकै उत्पादन बढाउन विशेष कार्यक्रम, किसानलाई अनुदानमा आधुनिक उपकरण
तनहुँ, ११ भदौ । तनहुँमा मकैको उत्पादन र बीउ प्रवर्द्धन गर्ने उद्देश्यले कृषि ज्ञान केन्द्रले एक विशेष कार्यक्रम सञ्चालन गरेको छ। चालु आर्थिक वर्षमा जिल्लाका २० वटा कृषक समूहमार्फत ४,०८५ रोपनी क्षेत्रफलमा यो कार्यक्रम लागू गरिएको हो।
केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेका अनुसार, प्रदेशको कृषि, भूमि तथा सहकारी मन्त्रालयले यस कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। कार्यक्रमका लागि कुल ६८ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म ३९ लाख २ हजार रुपैयाँ खर्च भइसकेको छ। कार्यक्रममा सहभागी हुन प्रत्येक समूहले कम्तीमा १०० रोपनी क्षेत्रफलमा खेती गर्नुपर्ने प्रावधान छ।
कार्यक्रम अन्तर्गत, किसान समूहहरूलाई ५० देखि ८५ प्रतिशतसम्मको अनुदानमा विभिन्न कृषि सामग्री र उपकरणहरू उपलब्ध गराइएको छ। प्रमुख लामिछानेका अनुसार, किसानहरूलाई ५,४१४ किलो उन्नत मकैको बीउ वितरण गरिएको छ।
यसका साथै, खेतीलाई आधुनिकीकरण गर्न ३९ वटा मिनिटिलर, २१ वटा कम्बाइन मिल, ४७ वटा मकै छोडाउने मेसिन, डिजिटल तराजु, स्प्रेयर र त्रिपाल जस्ता सामग्रीहरू प्रदान गरिएको छ। सिँचाइ सुविधाका लागि २०० मिटर कुलो समेत वितरण गरिएको छ।
यो कार्यक्रम जिल्लाका आँबुखैरेनी, ऋषिङ, घिरिङ, बन्दीपुर, व्यास, भानु र म्याग्दे गाउँपालिका तथा नगरपालिकाहरूमा विस्तार गरिएको छ। यी क्षेत्रका विभिन्न कृषक समूह तथा सहकारी संस्थाहरूले सयदेखि पाँच सय रोपनीसम्मको क्षेत्रफलमा कार्यक्रम सञ्चालन गरी लाभ लिइरहेका छन्।