लमजुङमा लोपोन्मुख ‘कटुवाल प्रथा’

काठमाडौँ, भदौ १२ । आधुनिक सञ्चार प्रविधिको विकास भए पनि लमजुङका केही पहाडी गाउँहरूमा प्राचीनकालदेखि चल्दै आएको ‘कटुवाल प्रथा’ अझै जीवितै छ । सूचना आदानप्रदानको परम्परागत माध्यमका रूपमा रहेको यो प्रथा जिल्लाका विभिन्न गाउँहरूमा निरन्तर चलिरहेको छ, जहाँ नागरिकका हातहातमा मोबाइल र इन्टरनेटको पहुँच भए पनि गाउँका महत्वपूर्ण खबरहरू कटुवालमार्फत नै प्रवाह गरिन्छ ।

बेँसीसहर नगरपालिका–१० को गाउँबेँसी, लेतेफाँट, कल्लेरी, डाँडागाउँ, क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ, घिचे, घाम्राङबेँसी, साल्मेलगायतका गाउँमा स्थानीय बासिन्दा कटुवालकै भरमा सूचना प्राप्त गर्छन्। बेँसीसहर वडा नं १० का ७० वर्षीय कालु परियार जब गाउँको डाँडामा उभिएर ठूलो स्वरमा उर्दी जारी गर्न थाल्छन्, गाउँलेहरू आफ्ना काम रोकेर ध्यानपूर्वक सुन्न थाल्छन् । परियारले गाउँमा हुन लागेका वा हुनेवाला भेला, कार्यक्रम, बैठक, विवाहलगायतका शुभकार्यका सूचनाहरू सुनाउँछन् ।

स्थानीय बासिन्दाहरू कटुवालले दिएको सूचनामा बढी विश्वास गर्छन् । बाँझाखेतका शिक्षक नन्दराज घले भन्नुहुन्छ, “विश्वका समाचार तथा विभिन्न खबरहरू अन्य माध्यमबाट प्राप्त गरे पनि गाउँका समाचार तथा खबर भने कटुवाल कराएपछि मात्र थाहा पाउने गरेको छु। अन्य माध्यमबाट थाहा पाए पनि कटुवाल कराएपछि मात्रै ढुक्क भइन्छ।” स्थानीय दूधप्रसाद घले पनि वर्षौंदेखि चलेको यो प्रथा सूचना प्रविधिको विकास भए पनि महत्वपूर्ण रहेको बताउनुहुन्छ । 

कटुवाल परियारले विगत ३५ वर्षदेखि यसरी नै गाउँमा कराएर सूचना दिँदै आउनुभएको छ । “गाउँमा जे काम भए पनि मलाई भन्छन्, अनि डाँडामा गएर गाउँलेलाई ठूलो स्वरमा कराएर सूचना दिने गरेको छु,” उहाँको भनाइ छ । सूचना दिँदा कसैले ‘सुनिएन, बुझिएन’ भनी गुनासो गर्दा यो पेसा सजिलो नलाग्ने परियारको भनाइ छ। परम्परागत रूपमा चल्दै आएको यो प्रथा जोगाउन आफूले पेसा अँगालेको बताउँदै उहाँ पारिश्रमिकको रूपमा विगतमा प्रतिघर १२ माना कोदो पाउँदै आएकामा गत वर्षदेखि दुई पाथी पाउन थालेको जानकारी दिनुहुन्छ । यद्यपि, यो कोदोले दुई महिना पनि परिवारलाई खाना नपुग्ने उहाँको गुनासो छ।

कोदो उत्पादन कम भएकाले कतिपयले कोदो नै दिने गरे पनि धेरैजसोले त्यसको मूल्य बराबर पैसा दिने गरेको परियार बताउनुहुन्छ । नयाँ पुस्तामा यस पेसाप्रति चासो नहुँदा आफ्नो शेषपछि यो प्रथा नै नरहने चिन्ता उहाँलाई छ ।

त्यस्तै, क्व्होलासोथर गाउँपालिका–८, घाम्राङ गाउँका दूधबहादुर गुरुङ पनि कटुवालको काम गर्दै आउनुभएको छ । वर्षौंदेखि कटुवालको चलन चल्दै आएको र यसलाई निरन्तरता दिन आफू पनि कटुवाल बनेको उहाँको भनाइ छ ।  यसबापत उहाँले गाउँलेबाट सामूहिक रूपमा वार्षिक पाँच मुरी धान र एक मुरी कोदो प्राप्त गर्नुहुन्छ ।

गाउँको रीतिस्थितिअनुसार असिना बार्ने, बीउ बार्नेदेखि विकास निर्माणका काममा सामूहिक परिचालन, सामुदायिक वनको गोडमेल, खानेपानीको मर्मतसम्भार, दाउरा काट्ने, दुःख–बिमारमा सघाउने, गाईभैंसी लेकमा लैजाने र बेँसीमा राख्नेलगायतका काममा पनि कटुवालले नै गाउँलेलाई खबर गर्दै आएका छन् ।

वडा सदस्य खमाया गुरुङका अनुसार गाउँभरिको खबर गर्ने आधिकारिक व्यक्ति कटुवालले सूचना दिएपछि अरू माध्यमभन्दा बढी विश्वास लाग्ने भएकाले पनि यो प्रथा कायम रहेको हो । वडा कार्यालयबाट गर्ने कार्यक्रमदेखि गाउँमा हुने सबैजसो कामको खबर गर्ने जिम्मा कटुवालको रहेको उहाँको भनाइ छ ।

यहाँ बर्सेनि गाउँमा थितिसभा बस्ने र सोही सभाले निर्णय गरेपछि मात्रै अन्नपात उठाउने चलन छ । जिल्लाका अन्य केही गाउँमा पनि कटुवाल प्रथा कायमै रहेको जनाइएको छ ।