महत्वपूर्ण विधेयक पारित गर्न संसद्ले बनायो कार्यतालिका, निजामती विधेयक १९ गते टुङ्ग्याइने
काठमाडौँ, १२ भदौ । प्रतिनिधिसभाले सङ्घीय निजामती सेवालगायतका महत्त्वपूर्ण विधेयकहरू पारित गर्नका लागि आगामी दुई साताको कार्यतालिका तय गरेको छ।
सभामुख देवराज घिमिरेले विभिन्न दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि तय भएको कार्यतालिका अनुसार, बहुप्रतिक्षित निजामती विधेयक यही भदौ १९ गते पारित गरिनेछ।
प्रशासनिक सङ्घीयता कार्यान्वयनका लागि महत्त्वपूर्ण मानिएको यो विधेयक राष्ट्रियसभाबाट आएपछि प्रतिनिधिसभाले टुङ्ग्याउनेछ।
सिंहदरबारमा भएको छलफलपछि तय भएको सम्भावित कार्यसूचीअनुसार अन्य विधेयकहरूलाई पनि प्राथमिकतामा राखिएको छ।
संसद्को आगामी १५ दिनको क्यालेन्डर तय गरिएको सभामुख घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारीले जानकारी दिनुभयो । भदौको दोस्रो पाक्षिक कार्यतालिका अनुसार भदौ १८, १९, २५, २६ र २७ गते प्रतिनिधिसभाको बैठक बस्नेछ ।
त्यसैगरी, भदौ २६ गते विद्यालय शिक्षा विधेयकलाई पारित गर्ने सम्भावित क्यालेन्डर पनि तय भएको छ । शुक्रबार बस्ने संसद् बैठकले भूमिसम्बन्धी विधेयक पारित गरेर राष्ट्रियसभामा पठाउनेछ भने भदौ १८ गते बस्ने बैठकले नागरिकतासम्बन्धी विधेयक पारित गर्ने कार्यतालिका छ । राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची पनि तय भएको छ ।