गुरुङ संस्कृति झल्काउने चलचित्र ‘रिमै’ भदौ २० गतेदेखि प्रदर्शनमा आउँदै
काठमाडौँ, भदौ १६ । नेपाली चलचित्र ‘रिमै’ ले गुरुङ समुदायको कला, संस्कृति र जीवनशैलीलाई नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने भएको छ । आज आयोजित पत्रकार भेटघाटमा अभिनेता दयाहाङ राईले यो चलचित्र गुरुङ संस्कृति बुझ्नका लागि एउटा महत्त्वपूर्ण दस्तावेज बन्न सक्ने बताउनुभयो ।
अभिनेता राईका अनुसार, ‘रिमै’ मा गुरुङ समुदायको संस्कृति र जीवनशैलीका विभिन्न आयाम समेटिएका छन् । विशेषगरी गोरखाको माथिल्लो भेगमा बसोबास गर्ने गुरुङ समुदायको संस्कार र संस्कृतिमा चलचित्रको कथा तयार पारिएको छ । जसले भोलिको पुस्तालाई गुरुङ समुदायबारे बुझ्न मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। उहाँले ‘रिमै’ शब्दको अर्थ गुरुङ भाषामा ‘छोरी-चेली’ भएता पनि सन्दर्भअनुसार ‘तरुनी’ को रूपमा पनि प्रयोग गरिने जानकारी दिनुभयो । गुरुङ समुदायको अन्तिम संस्कारमा छोरीको अनिवार्य उपस्थिति मानिने संस्कृतिलाई पनि चलचित्रमा देखाइएको उहाँको भनाइ छ। “गुरुङ भाषामा चलचित्र बनेका छन्, तर सबैले नेपालभर बुझ्ने भाषामा यो चलचित्र तयार भएकाले महत्त्वपूर्ण छ,” राईले थप्नुभयो ।
चलचित्रकी अभिनेत्री रिश्मा गुरुङले ‘रिमै’ हेरेपछि गुरुङ समुदायमा छोरीको महत्त्व अझ प्रस्टिने जानकारी दिनुभयो । गुरुङ समुदायकै सदस्य भएकाले नयाँ पुस्तामा हस्तान्तरण हुन नसकिरहेको संस्कृतिलाई चलचित्रले बृहत् रूपमा प्रचार गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । “म यो चलचित्रमा जोडिनुको एउटा मुख्य कारण संस्कृतिलाई जोडेर तयार गरिएको कथा हो । पुर्खाले सिकाउनुभएको संस्कार र संस्कृति समेटिएको पटकथा पढेपछि यसमा काम गर्नुपर्छ भन्ने प्रेरणा मलाई प्राप्त भयो। मनोरञ्जन चाहनेका लागि पनि यो चलचित्र उत्तिकै राम्रो छ,” अभिनेत्री गुरुङले भन्नुभयो ।
‘रिमै’ मा दयाहाङ राई र रिश्मा गुरुङका साथै अर्पण थापा, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिबी गुरुङ, टेक गुरुङलगायतका कलाकारहरूको अभिनय रहेको छ । खिलबहादुर गुरुङले निर्देशन गर्नुभएको यस चलचित्रमा उपेन्द्र सुब्बाको पटकथा लेखन, शैलेन्द्रध्वज कार्कीको छायाङ्कन र मित्रदेव गुरुङको सम्पादन रहेको छ ।
यो चलचित्र यही भदौ २० गतेदेखि नेपालसहित अस्ट्रेलिया, न्युजिल्यान्डलगायतका देशमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ।